मुस्लिम युवाहरुले हिन्दू छिमेकीको शव उठाउँदै भने – ‘राम नाम सत्य है

एजेन्सी। भारतको उत्तर प्रदेशको बुलंदशहरमा रविशंकर नामका एक हिन्दू व्यक्तिको मृत्यु भयो । कोरोनाभाइरसको प्रकोप फैलिन गरिएको लकडाउनका कारण उनको मृत्युपछि उनका आफन्त त्यहाँ आउन सकेनन् ।

उनको अन्तिम संस्कारको लागि घाटमा लैजान पर्याप्त मानिसहरु भएनन् । तर, छिमेकमा रहेको मुस्लिम बस्तीका युवाहरुले भने मानवताको उच्चतम उदाहरण दिँदै अन्तिम संस्कारको लागि सघाउन आइपुगे ।

ती मुस्लिमहरुले घरबाट शव उठाउने सबै प्रक्रिया पूरा गरेपछि शव उठाए र भने – ‘राम नाम सत्य है ।’ यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । रविशंकरको शव लिएर घाटमा पुग्दासम्म पनि उनीहरुले राम नाम जप्दै गए ।

मृतकका छोरा प्रमोदका अनुसार कैयौं मानिसहरु उनलाई सहयोग गर्न आए । उनले यो समाजको एकताको लागि राम्रो उदाहरण भएको बताए । उनका छिमेकी जुबेरले पनि धर्मको आधारमा भेदभाव गर्नु ठिक नहुने बताए ।