“मेरो पढाई भन्दा देशकाे मुक्ति ठूलो कुरा हो” – विप्लव पुत्र प्रकाश

  • बीबीसी

तपाईँले डाक्टरी किन पढ्नु भएको ?

यो धेरै पुरानो र पहिलेको कुरासँग जोडीएको छ । बाल्यकालसँग पनि जोडीएको छ । १० वर्षे द्वन्द्वकालमा देखेको चित्र र म आफैँले भोगेको पीडा पनि छ । त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको बलिदानी र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्षति । यिनै विषयले मलाई कता कता प्रोत्साहन पनि दियो र पढ्नु पर्छ भन्ने मलाई त्यतिखेर नै लागेको थियो । हामीले ठूलो क्षति बेहोरेका थियौँ । त्यतिखेर युद्धमा लाग्ने जनमुक्ति सेनालाई स्वास्थ्य उपचारको सामान्य भन्दा सामान्य विषय नजान्दा धेरै क्षति भएको थियो । त्यसलाई कहिँ न कहिँ हल गर्न सकिन्छ भन्ने हिसाबले मलाई लाग्थ्यो र मैले बुवासँग पनि छलफल गरिराख्थेँ । त्यही शिलशिलामा कता कता बाट मिलेर आयो र डाक्टरी पढियो ।

पढेर के गर्ने विचार छ ?

यसमा धेरै ठूलो इच्छा र आकांक्षा केही पनि छैन । यसमा मेरो दुईवटा योजना छ । ९५ प्रतिशत के छ भने मेरो तन मन सबै अब नेपालको एकीकृत जनक्रान्तिमा छ । हामीहरूले कसरी हुन्छ मैदानमा नेतृत्व गर्ने गरि जोस र जाँगर सहित अगाडि आउनु पर्छ र पहिलाको हाम्रो जुन क्षति थियो त्यसलाई रोक्नु पर्छ भन्ने नै उद्देश्य अहिले छ । कुनै कारणले त्यो भएन भने एउटा व्यावसायिक जीवनमा फर्कनु पर्ने पनि हुन सक्छ । यही दुईवटा कुराको सेरोफेरोमा नै रहेर अगाडि बढ्छ ।

तपाईँका बुवा नेत्रविक्रम चन्द विप्लव निकै चर्चामा हुनुहुन्छ । अहिले तपाईँ उहाँको बारेमा के भन्नुहुन्छ ?

व्यक्तिगत र भावनात्मक हिसाबले भन्नुपर्दा तपाईँ जहाँ भए पनि सुरक्षित हुनुस र आफ्नो स्वास्थ्यको ख्याल गर्नुस भन्ने भइहाल्यो । त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने अहिले उठाएको क्रान्तिको जुन लाइन छ त्यसलाई छाड्नु हुँदैन । हिजो १० वर्षको जुन पीडा भोगेका छौँ त्यसलाई भुलाउने गरी, विजयको झण्डा फहराउने गरी अनि हजारौँ शहीदहरूको सपना पूरा गर्ने गरी क्रान्तिको मार्गदर्शन नछाड्नुस भन्ने हो । जस्तो किसिमको बलिदानी दिन पनि हामी तयार छौं ।

बुवासँग कुराकानी नियमित हुन्छ ?

अहिले यो प्रश्न त्यति जायज भएन । अहिले जुन परिवेश र हिसाबले राजनीति अगाडि बढिरहेको छ, यो बेला यो प्रश्न त्यति सुहाउँदैन । मैले तपाईँलाई हुन्छ भनेँ भने त्यो उत्तर पनि सही नहुन सक्छ, र हुँदै हुँदैन भन्ने पनि होइन ।

बुवाले तपाईँलाई के भन्नुहुन्छ, अथवा यो गर त्यो नगर भन्ने के सुझाब दिने गर्नु हुन्छ ?

बुवा छोराको सम्बन्ध भइसकेपछि बुवाले छोरालाई गर्ने मार्गनिर्देशन सधैँ भरी गरिरहेको हुन्छ । व्यक्तिगत रूपमा यो नगर त्यो नगर भन्नु भन्दा पनि आन्दोलन र संघर्षसँग सम्बन्धित योजना र अरू कार्यक्रमहरूको विषयमा बढी छलफल हुन्छ ।

तपाईँ जस्ता मान्छेलाई अब तपाईँको बुवाको आह्वानमा मार्न र मर्न पनि हिचकिचाउन नहुने स्थिति आइपर्न सक्छ । तपाईँ मान्छे बचाउने पेशामा लाग्ने तरखरमा हुनुहुन्छ । कुरा नमिले जस्तो लाग्दैन ?

कुनै पनि पेशा राम्रो वा नराम्रो भन्नु भन्दा त्यो पेशालाई तपाईँले कसरी अगाडि बढाउनु हुन्छ र कसरी आफ्नो जीवनमा ढाल्नु हुन्छ भन्ने कुरा हो। मैले कहिले पनि मान्छे मार्नु पर्छ वा हाम्रो पार्र्टीको महासचिवले पनि त्यसो गर्नु पर्छ भनेर कसैले पनि गरेको छैन । डाक्टरले मान्छे बचाउनु पर्छ मात्र भन्नु भन्दा पनि अहिलेको परिस्थितिमा डाक्टरले के गर्दा चाहिँ राष्ट्रमा शान्ति कायम हुन्छ वा कसरी समृद्ध हुन्छ अनि पूँजीवादी दलाल व्यवस्थाबाट तपाईँ हामी कसरी स्वतन्त्र हुन्छौँ, अन्तराष्ट्रिय शक्तिबाट हामी कसरी स्वतन्त्र हुन्छौँ भन्ने कुरामा हाम्रो जोड बल भएको कारण हाम्रो ध्यान त्यता हुने भइहाल्यो । कसैले संघर्षमा दुश्मनलाई प्रतिवाद गर्दै जाँदा भवितव्यले केही घटना पनि हुन सक्छ । त्यसबाट हामी जोगिने जोगाउने कुरा भइहाल्यो तर मर्न नै पर्छ भन्ने कुरा हाम्रो पनि छैन । पेशाको हिसाबले पनि मान्छे बचाउनु पर्छ भन्दै गर्दा म त्यहाँ पनि मान्छे बचाउन नै जाने हो । मेरो बाल्यकालदेखिको सपना पनि त्यही हो । अबका क्रान्तिहरूमा मैले प्रत्यक्ष भाग लिन पाइयोस र कोही पनि त्यस्ता स्वतन्त्रता सेनानीहरूले अनाहकमा ज्यान गुमाउन नपरोस भन्ने मेरो भित्री आत्मादेखिको चाहना हो ।

बुर्जुवा शिक्षा भनेर आलोचना गर्ने तर आफ्ना छोराछोरीलाई त्यही शिक्षा दिलाउने अनि जनताका छोराछोरीलाई मर्न पठाउने भनेर आलोचना हुने गरेको छ नि तपाईँको बुवाको ?

आलोचना गर्नका लागि गरिने विषयहरुमा हाम्रो भन्नु केही छैन । तर हाम्रो बाल्यकाल हेर्नुस हामी कस्तो खालको भोगाइबाट गुज्रिएका छौँ र कस्तो खालको शिक्षादिक्षाबाट अगाडि बढेका छौँ भन्ने कुरा सबै युवाले बुझ्न जरूरी छ । मेरो बाल्यकालको कुरा गर्ने हो भने रोल्पाको बमबारी र बारुदभित्र गुजारेका ती रातहरू, आँखै अगाडि रक्ताम्मे भएर ढल्दै गरेका लाशहरू अनि मेरै बुवाको मरेको भन्ने चिठ्ठी पढ्दाखेरीको मेरा भावनाका कुराहरू, यी सबै कुरा जोडीएर आउँछन् । यहाँ कसैले बुर्जुवा शिक्षा पढ वा नपढ भन्ने भन्दा पनि शिक्षा लिने कुरामा बुर्जुवा होस वा जे होस लिने कुरा ठूलो हो त्यसैले अहिले शिक्षा लिने मौका छ लिनुपर्छ भन्ने हो । अहिले जुन विषय आएका छन आफ्ना छोराछोरी पढाउने अरूको छोराछोरी मार्न लगाउने भन्ने, खास विषय त्यो होइन । हामी पनि वा म पनि क्रान्तिको मैदानमा हुनेछु । आज म एमबीबीएस पढ्दै छु । भोली वातावरण बिगँ्रदै गएको अवस्थामा म तुरुन्तै हिँड्न तयार छु । क्रान्तिको लागि कसले कहाँबाट बलिदानी दिने भन्ने कुरा हो । त्यसका लागि हामी सधैँ तयार छौँ ।

बुवा राजनीतिक मूलधारमा आइदिए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?

यही धारमा यही अवस्थामा मूलधारमा आउनु हुँदैन । विप्लवले मूलधारमा ल्याए पनि हामी मान्दैनौँ त्यो कुरा । पारिवारीक हिसाबले मेरो बुवा भए पनि यो तीन करोड नेपाली जनताको मुक्ति कि मृत्यु भन्ने विषय बनिसक्यो ।

तपाईँ जस्तो डाक्टर पढ्न ठूलो रकम आवश्यक पर्छ । तपाईँको खर्च कहाँबाट जुट्छ ?

यसमा धेरै साथीहरूको पनि सहयोग रहेको छ । सीएमसी कलेजले हाम्रो अनुरोधमा धेरै खर्च लिएको छैन । हाम्रो परिवार डाक्टरी पढ्नै नसक्ने, मोटरसाईकल चढेर हिँड्न नसक्ने, राम्रो लुगा लगाउनै नसक्ने खालको परिवार पनि होइन । हामी ठकुरी खानदान भएको हिसाबले पनि लाहुरे परिवारको पृष्ठभूमि छ । त्यसकारणले गर्दा डाक्टरी पढ्नै नसक्ने विषय होइन । हाम्रो परिवारको जुन स्थिती छ त्यो भन्दा निकै तल गएर हामीले हाम्रो बालापन बिताएका छौँ ।

तपाईँ महँगो मोटर साईकलमा चढ्नु हुन्छ भनेर आलोचना हुने गरेको छ। आम्दानीको श्रोत के हो?

त्यो विषय कहाँबाट आयो भन्ने कुरा बुझ्न जरूरी हुन्छ । जुन ुहार्ले डेभिडसनु मोटर साईकलको कुरा हो, काठमाण्डौंमा सामान्य पार्किङ्ग गरी राखेको अवस्थामा मैले चढेर फोटो खिचेर सामाजिक सन्जालमा हालेको थिएँ । त्यो आजको कुरा पनि होइन, करिब २,३ वर्ष अगाडिको कुरा हो । केही मिडिया र केही सामाजिक सन्जालका समूहहरूले यसलाई ठूलो विषय बनाएर, मसला हालेर, रङ्गरोगन गरेर अगाडि ल्याएपछि आलोचना त हुने नै भयो । त्यो मोटर साईकल मेरो पनि होइन।

वर्तमान राजनितिक परिवेशलाई कसरी हेर्नु हुन्छ ?

यो राजनीति धेरै टिक्ने वाला छैन । हामी माथि जुन हिसाबले प्रतिबन्ध लगाउने, युद्ध थोपर्ने र अनावश्यक रूपमा उत्तेजित गर्ने प्रपञ्च भइराखेका छन् उनीहरूले खनेको खाल्डोमा उनीहरू नै पर्नेछन ।