कोरोना संक्रमित युवतीसँग एउटै जहाजमा आएका नवलपरासीका दुई युवा भेटिए

काठमाडौ। चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसँगै प्रदेश पाँचको नवलपरासीका दुईजना युवाहरू पनि उनीसँगै आएको खुलेको छ । ती युवतीलाई कोरोना संक्रमण भएको खुलेपछि प्रहरीले खोजी गर्दा पूर्वी र पश्चिम नवलपरासीका दुई युवाहरू पनि उनीसँगै आएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले दुवै जनाको परिवारलाई क्वारेनटाइनमा राखेको बताए । ‘गृहमन्त्रालयले जहाज चढेर आएका १ सय ५८ जनाको सूची पठाएको छ । उक्त सूचीमा नवलपरासी ठेगाना भएका दुई जना उल्लेख छ,’ थापाले भने ।

नागरिकता नम्बरको आधारमा उनीहरुको खोजी भएको थापाले बताए । ‘एक जना पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाका ३२ वर्षीया युवक र अर्का पूर्वी नवलपरासी देवचुली नगरपालिकाका रजहरका ३७ वर्षीया युवक रहेछन्,’ थापाले भने । बर्दघाटका युवकको खोजी गर्ने क्रममा उनी घरमै सेल्फ क्वारेन्टाइनमा रहेको उनले बताए ।

‘उनी सेल्फ क्वारेन्टाइनमा छन् । घरमै रहन दिनेकी स्वास्थ्य संस्थामा लैजाने भन्नेबारे चिकित्सकहरुसँग छलफल भइरहेको छ,’ थापाले भने ।

पूर्वी नवलपरासीका युवक भने लामो समयदेखि काठमाण्डौं बस्दै आएकोले सोही अनुसार जानकारी गराइएको जिल्ला प्रशासनले जनाएको छ । कोरोना संक्रमित युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

फाइल तस्विर