लकडाउन अझै दुई साता बढाउने सरकारको तयारी

काठमाडौं। सरकारले लकडाउनको अवधि बढाउने तयारी थालेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार अहिले घोषणा गरिएको एक साताको लकडाउन अवधि अझै दुई साता थप्ने सरकारको योजना छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार राति बसेको बैठकले हिजो मंगलबार बिहानबाट चैत्र १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र निधन हुनेको संख्यासमेत दश पुगेकोले भारत सरकारले हिजोबाट तीन साता लकडाउनको घोषणा गरेको छ।

नेपालमा जतिपनि संक्रमणको केश छन्, ती सबै विदेशबाट आयात भएको हो । तीन जनाको केशमा उनीहरुले रोग ल्याएको देखिएपनि नेपालमा अन्यलाई अहिलेसम्म सारेका छैनन् । यो सुखद अवस्था हो । परराष्टमन्त्री प्रदीप ज्ञवालीले सरकारले सुरु गरेको एक साताको लकडाउन आवश्यकत्ताअनुसार थप्ने संकेत गरेका छन् । उच्चस्तरीय समन्वय समितिको बैठक आजपनि बसिरहेको छ । आजको बैठकमा अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदबारे छलफल भैरहेको बुझिएको छ ।

सरकारले एक साता लकडाउन गरेपछि काठमाडौं उपत्यका सुनसान छ। मंगलबार विहान ५ बजेदेखि लकडाउन गरेपछि काठमाडौंमा अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन्। यता, नेपालमा पनि संक्रमितको संख्या तीन पुगेको छ । एक जना सफल उपचारपछि घर फर्किएका छन् भने बाँकी दुई जनाको आईसोलेशनमा राखेर उपचार भैरहेको छ । आज मात्र नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।