आफ्नो होटेल क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने राजपा सांसद राउतको घोषणा

काठमाडौ। राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य समेत रहेकी निर्जला राउतले आफ्नो होटेललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न प्रदेश २ को सरकारसँग आग्रह गरेकी छिन् ।

उनले ३ बर्ष अघिदेखि महोत्तरीको बर्दिबासमा राम्रैसँग संचालनमा रहेको सेवा सुबिधा सम्पन्न होटेल पावन मिथिलालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आग्रह गरेकी हुन् ।

‘शुरु देखि नै समाजका लागि केही गरौँ गरौँ जस्तो लागेको थियो,’ सांसद राउतले लोकान्तरसँग भनिन्, ‘आज बिहानै मैले त्यो निर्णय गरेर होटेललाई कोरोना विरुद्धको महामारीलाई रोकथाम गर्नका लागि प्रयोग गर्न दिए हुन्थ्यो भनेर घोषणा गरेकी हुँ ।’

४५ वटा ठूलो कोठा, १ सय जना अटाउने कन्फरेन्स हल एउटा, ५०/५० जना मानिस अटाउने २ वटा हलसहित अत्याधुनिक सेवा सुविधा सम्पन्न राम्रो चलेको अवस्थाको उक्त होटेल रहेको उनले बताइन् ।

‘यस्तो गाह्रो परेको बेला सहयोग गर्नुपर्छ भनेर मैले घोषणा गरेकी हुँ,’ राउतले भनिन्,‘मैले प्रदेश सरकारका कुनै मन्त्री वा मुख्यमन्त्रीसँग कुरा भने गरेको छैन । पहिले घोषणा त्यो आफुले गरें, अब प्रदेश सरकारले चिकित्सक सहितको टोली पठाएर होटेलको निरीक्षण गर्लान् भन्ने अपेक्षा राखेको उनले बताइन् ।

होटेलमा काम गर्ने कामदारलाई घर पठाएर अन्य सामानहरु खाली गराइरहेको समेत उनले जानकारी दिइन् । सिराहाको लहान नगरपालिका वडा अनाम्बर १३ स्थित पक्की टोल निवासी राउत राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीको साविकको पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टीमा आवद्ध थिइन् । उनी भण्डारीकै कोटाबाट समानुपातिक सांसद बनेकी हुन् ।