दक्षिण कोरियाका प्रधानमन्त्रीको मन छुने सम्बोधन: “अब २ हप्ता धैर्य गरिदिनुस् !”

काठमाडौं। दक्षिण कोरियाका प्रधानमन्त्री चुङ से क्यूनले आफ्ना नागरिकहरूलाई अब मात्र २ हप्ताका लागि धर्म, खेल र मनोरञ्जनका लागि समूहगत भेला नभइदिन आग्रह गरेका छन्।

स्वास्थ्य अधिकारीहरूले समूहगत भेलाबाट कोभिड १९ फैलिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री क्यूनले जनतालाई २ हप्तासम्म धैर्य भइदिन आग्रह गरेका हुन् । उनले सरकारी निर्णयलाई जनताले नमाने कोरियाले कोरोनाविरुद्धको लडाईं हार्ने बताए ।

दक्षिण कोरियाका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मृतकहरूको संख्या अझै बढ्ने भनेर चेतावनी दिएपछि प्रधानमन्त्री क्यूनले जनताको नाममा सम्बोधन गर्दै आफ्ना जनतालाई धैर्य रहन आग्रह गरेका हुन् ।

दक्षिण कोरियाले कोरोनाविरुद्धको लडाईंलाई तीव्र बनाइरहेको छ । कुनैबेला एकदिनमा हजारौं संक्रमित फेला पर्ने दक्षिण कोरियामा अहिले सयको संख्यामा मात्र संक्रमितहरू फेला पर्न थालेका छन् ।

‘केही चर्चहरूबाट संक्रमितको संख्या बढेको देखिएको छ,’ प्रधानमन्त्री क्यूनले भने, ‘हामीले बाहिरबाट आएका संक्रमणहरू पनि ठूलो तहमा बेहोरेका छौं । अब २ हप्ता हामी धैर्य भएर बस्यौं भने रोगविरुद्धको लडाईमा सफल हुनेछौं ।’

क्यूनले अप्रिलको शुरूदेखि पहिल्यै स्कूलहरू पुनः चालू हुनसक्ने बताए ।