कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

काठमाडौं। कोरोना भाइरस पोजेटिभ देखिएकी युवतीको काठमाडौंस्थित घरमा स्वास्थ्य मन्त्रालयले चारजनाको टोली खटाएको छ।

फ्रान्सबाट कतार हुँदै फर्किएकी १९ वर्षीया युवतीको घरमा स्वास्थ्य मन्त्रालयले चारजना स्वास्थ्य अधिकारीहरुलाई खटाएको छ।

मन्त्रालयको टोलीले होम क्‍वारेन्टाइनमा बसेका युवतीका अभिभावक र आफन्तसँग छलफल गरिरहेको छ। टोलीले युवतीको सम्पर्कमा आएका अभिभावक, नातेदार, छिमेकी र साथीहरुबारे जानकारी लिन थालेको हो।

सबै जानकारी लिइसकेपछि उनको सम्पर्कमा आएका सबैलाई क्‍वारेन्टाइनमा राख्‍ने तयारी सरकारले गरेको छ। अहिले भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा ७१ जना रहेका छन्।

विदेशबाट आएका अन्यलाई पनि सरकारले होम क्‍वारेन्टाइनमा बस्‍न भनेको छ। तर विदेशबाट आएका अधिकांशले होम क्‍वारेन्टाइनमा नबसी लापरवाही गरिरहेकाले अवस्था जटिल बन्‍ने कुराले चिन्ता बढाएको छ।