छिमेकीले दिने सहयोग लिन आफ्नै जहाज लिएर जाने

काठमाडौं। कोरोना संक्रमण र यसलाई नियन्त्रण गर्ने विषयमा आइतबार झण्डै तीन घण्टा लामो मन्त्रिपरिषद बैठक बस्यो। सुरुमा प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीलाई तीन–तीन मिनेटको समय दिँदै आफ्नो मन्त्रालयको गरेको कामको ब्रिफिङ गर्न निर्देशन दिए।

केही मन्त्रीले बिफ्रिङका क्रममा प्रधानमन्त्रीले उपलब्ध गराएको समय भन्दा बढी नै बोलेका थिए। विशेष गरी परराष्ट्र र स्वास्थ्य मन्त्रीले बढी समय लिएका थिए।

दश जना मन्त्रीले आफ्नो भनाइ राखिसकेपछि प्रधानमन्त्रीलाई गाह्रो हुन्छ, अब विषय प्रवेश गरौं भन्दै एक जना मन्त्रीले प्रस्ताव गरेका थिए। बैठकमा बोल्ने अधिकांश मन्त्रीले चीनबाट सहयोग लिन सुझाएका थिए।

प्रधानमन्त्री केपी ओलीले अहिले सबै जसो मुलुक कोरोनासँग जुधिरहेको अवस्थामा सहयोग माग्न उचित नहुने भन्दै चीनसँग सहयोग लिने विषयमा मन्त्रीको धारणाका जान्न चाहेको बताएका थिए।

अधिकांश मन्त्रीहरुले चीनसँग सहयोग लिनु सुझाव दिएका थिए। बैठकमा चीन कोरोना नियन्त्रण गर्ने दिशामा अगाडि बढिरहेको, चीनले सहयोग गर्न तत्परता देखाएका कारण चीनसँग जतिसक्यो धेरै सहयोग लिनु उचित हुने निष्कर्ष निकालिएको थियो।

तर चीनबाट सहयोग लिँदा सामान ढुवानीमा समस्या हुने भन्दै चीनले उपलब्ध गराउने सहयोग सामाग्री दिन आफ्नो जहाज पठाउने निर्णय भएको मन्त्रिपरिषद स्रोतले जनाएको छ।

नेपालले आइतबार मध्यरातिदेखि लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइसकेको छ। सोही कारण चीनले दिने सहयोग सामाग्री लिन आफ्नै जहाज पठाउने निर्णय गरिएको हो।

यसैगरी बैठकले कोरोनाको आशंकामा अस्पताल पुगेका बिरामीको उपचार गर्न डाक्टरहरु डराइरहेको भन्दै डक्टरले लगाउने गाउन चाँडो व्यवस्थापन गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएको छ।

बैठकमा भारतसँगको सीमा बन्द गर्ने विषयमा निकै लामो वश भएको थियो। भारतले जनताकफ्र्यु लगायत बन्द जस्तै गरेको छ। नाकाबन्द नगरीकन पनि नाकाबन्द गरेको छ। हामीले पनि बन्द गर्नुपर्छ भन्ने प्रस्ताव प्रधानन्त्रीले राखेर निर्णय भयो।

यसैगरी बैठकले भारतसँगको सीमाना बन्द गर्ने विषयमा भारतसँग द्विपक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मा दिएको छ। यसैगरी विभिन्न मुलुकमा रहेको नेपाली कामदारका समस्याका विषयमा छलफल गर्न परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार विभिन्न मुलुकमा राजदूतसँग कन्फ्रेन्स कल गर्ने भएका छन्।

झण्डै तीन घण्टा लामो चलेको बैठकमा मास्कको कुरा पनि उठेको थियो। मास्कको कुरा उठेपछि प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ढट्टा गर्दै ‘मास्क लगाउँदा तपाइँको थुतुनो उचालिएको जस्तो देखिँदोरहेछ’ भनेका थिए।