चौधरी ग्रुपले चीन र भारतबाट कोरोना परीक्षण किट तथा अन्य स्वास्थ्य सामग्री ल्याउन पहल गर्दै

काठमाडौ। मुलुकका एक मात्र डलर अर्बपति विनोद चौधरीको चौधरी फाउन्डेसनले चीन र भारतबाट कोरोना परीक्षण किट तथा अन्य स्वास्थ्य सामग्री ल्याउन पहल गरिरहेको जनाएको छ।

विश्वका धनाढ्यहरुले कोरोना भाइरसको महामारीका बेला सहयोगको हात बढाइरहँदा चौधरी ग्रपले पनि नेपालीहरुलाई सघाउन पहल थालेको हो। तर, ढुवानी प्रणाली सहज नभएकाले परीक्षण किट आइपुग्न समय लाग्ने चौधरी ग्रुपले जानकारी दिएको छ।

नेपाली नागरिकलाई संक्रमणबाट सुरक्षित राख्न के गर्न सकिन्छ भन्नेमा आफूहरुको ध्यान केन्द्रित भएको फाउन्डेसनको भनाइ छ। ‘हामीले मुलुकभर छरिएका हजारौं कर्मचारीको सुरक्षा प्रबन्ध मिलाउँदै नियमित जाँच र परीक्षण गरिरहेका छौं,’ चौधरी ग्रुपले भनेको छ, ‘हाम्रा कर्मचारीको सुरक्षा व्यवस्थाका लागि हाम्रो विशेषज्ञ टोलीले निकै सचेतताका साथ काम गरिरहेको छ।’

‘सरकार र अन्य साझेदारहरूसँग बलियो एवं प्रभावकारी काम गर्न हाम्रा पहल सुरू भइसकेका छ,’ उसले थपेको छ। व्यवसायी वसन्त चौधरीले पनि ५० लाख रुपैयाँ सहयोग गर्न आफू तयार रहेको बताएका छन्। उनले ट्विटरमार्फत दक्षिण एसियाली देशहरुका लागि तयार गरिएको सार्क आपतकालीन कोषमा सहयोग दिने बताएका हुन्।

‘सार्क आपतकालीन कोषमा सदस्य राष्ट्रबाहेक सर्वसाधारणले पनि आर्थिक सहयोग गर्न मिल्ने हो कि हैन? आधा करोड सहयोग गर्न तयार छु,’ उनले लेखेका छन्।