भारतमा ३० करोडमा कोरोना संक्रमण हुने अनुमान

एजेन्सी। भारतमा कोरोना भाइरसको सुनामी आउने हुँदा त्यसलाई झेल्न भारत तयार रहनुपर्ने एक विशेषज्ञले बताएका छन् ।

सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले अबको तीन हप्ताभित्र आवश्यक तयारी नगरे भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्ने बताएका हुन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने जोखिममा अब भारत रहेको भन्दै तयारी अवस्थामा रहनुपर्ने उनको भनाई छ ।

विश्वका १६८ देशमा देखिएको कोरोनाबाट ३ लाख मानिस संक्रमित छन् भने मर्नेको संख्या १३ हजार नाघेको छ।

संसारभर तीव्र गतिमा बढिरहेको संक्रमण अब भारततर्फ आउन लागेको डा. रामाननको विश्लेषण छ ।

भारतमा संक्रमणको संख्या ३ सय ३० छ भने ५ जनाको मृत्यु भइसकेको छ । कर्नाटक, दिल्ली, महाराष्ट्र, लखनऊ र पंजाब धेरै प्रभावित छन् ।

बीबीसी हिन्दीसँग कुरा गर्दै डा. रामाननले कोरोना भाइरसको सुनामीका लागि भारत तयार हुनुपर्ने बताएका हुन्।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्ने आकंलन गर्दै उनले विश्वका अन्य मुलुकभन्दा संक्रमणदर कम हुने कुनै संकेत नदेखिएको बताए।

डा रामाननले भने, ‘हुनसक्छ हामी अन्य देशको तुलनामा केही पछाडि छौं। तर, स्पेन र चीनमा जसरी ठूलो संख्यामा मानिसहरु संक्रमित भए त्यस्तो अवस्था यहाँ आउन सक्छ। केही हप्तामा हामी सुनामीका लागि तयारी अवस्थामा बस्नुपर्छ।’

विश्वमा कोरोनाको संक्रमणको दर धेरै देखाए पनि भारतमा जाँच नहुँदा कम देखाएको उनको विश्लेषण छ।

‘भारत मात्र होइन विश्वमै कोरोना जाँच एकदमै कम भइरहेको छ’, डा रामाननले भने । अबका दिनमा जाँचको संख्या बढ्ने र बिरामीको संख्या पनि बढ्ने उनको भनाई छ।

संक्रमित संख्या हजार नाघ्न सक्ने र यसका लागि तयार रहनुपर्नेमा उनको जोड छ। चीनको उदाहरण दिँदै उनले भारतमा पनि जनघनत्वका कारण संक्रमण सजिलैसँग फैलिने बताए।

भारतमा कम्तीमा पनि २० प्रतिशत जनसंख्या कोरोनाबाट प्रभावित हुने र यो संख्यामा ३० करोड मानिस हुने डा रामाननको विश्लेषण छ।