इटालीमा यसरि सुरु भएको थियो कोरोना, मसिना गल्तीले निम्तियो भयानक विनास

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले विश्वमा सबैभन्दा भयानक विनास इटालीमा निम्त्याइरहेको छ । संक्रमितको संख्या चीनको जति नपुगे पनि मृतक चीनको भन्दा बढी भइसकेका छन् । संक्रमण र मृत्युको दर दिनदिनै उच्च दरमा बढिरहेको छ । शुक्रबार एकै दिन इटालीमा ६ सय २७ ले ज्यान गुमाएका छन् । ५ हजार ९ सय ८६ नयाँ संक्रमित देखिएका छन् ।

इटलीमा पूरै स्वास्थ्य आपतकालको अवस्थामा छ । अस्पतालमा बिरामीको संख्या बढेको छ । उनीहरुलाई राख्ने अस्पतालको मात्र होइन, उपचार गर्ने डाक्टर र नर्सको पनि अभाव देखिएको छ । चाहेर पनि सबै बिरामीलाई डक्टरले ध्यान दिन सकेका छैनन् । बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्ने बाध्यता इटालीमा देखिएको छ ।

आखिर इटालीमा कसरी भित्रियो कोरोना ? युरोपकै धनीमा गनिने इटाली कोरोनासँग किन हार्नुपर्ने अवस्था निम्तियो ? के गल्ती भयो ? यी प्रश्नको यथार्थ जवाफ नेपाल र नेपालीले मनमा राख्न जरुरी छ । व्यवहार सुधार्न आवश्यक छ ।

इटालीमा २९ जनवरीमा पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको थियो । दुई चिनियाँ पर्यटकमा संक्रमण देखिएको थियो । इटालीले ती चिनियाँलाई तत्कालै क्वारेन्टाइनमा राख्यो । तर, कोरोनाको थप संक्रमण देखिन थाल्यो । सरकारले केही प्रभावित क्षेत्रलाई रेड जोन घोषणा गर्दै मानिसहरुलाई सचेत गरायो । तर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या बढ्दै गयो । तर, किन त ?

किनभने कोरोना संक्रमण भएका मानिसमा पनि लक्षण नदेखिनसक्छ भन्ने तथ्यलाई इटालीले वेवास्ता गर्‍यो । यो गल्ती गरिसकेपछि चीनले बाहिरबाट आउने पर्यटकहरुमाथि निगरानी बढाए पनि अर्थपूर्ण हुन सकेन । वैज्ञानिकहरुका अनुसार इटालीमा यो भाइरस कम्तीमा पनि जनवरीको मध्यतिर नै प्रवेश गरिसकेको थियो । तर, उनीहरुमा कुनै पनि संकेत नदेखिएपछि इटाली सुरक्षित रहेको भ्रममा ढुक्क रह्यो । कोरोना भाइरस लाग्दा कुनै लक्षण देखिँदैन वा सामान्य लक्षण मात्र देखिन्छ, जसबाट यो भाइरस लागेको थाहा पाउन सकिँदैन ।

जब नयाँ संक्रमितको संख्या बढ्यो इटालीले एक चौथाइ मुलुकलाई क्वारेन्टाइनमा राख्ने योजना बनायो । तर, यो सूचना चुहिएपछि जनस्तरबाट अर्को गल्ती दोहोरियो । सरकारको तयारी थाहा पाएपछि रेड जोनमा रहेका धेरै मानिसहरु भाइरस नफैलिएको आ–आफ्नो घर फर्किए । त्यसपछि इटालीमा बिरामीको संख्या ह्वात्तै बढ्यो । इटली सरकारले पूरै मुलुक लकडाउन गर्नुअघि नै महामारी मुलुकभर फैलियो । जसको परिणाम अहिले देखिइरहेको छ ।