जो एक महिना अगाडि साढे दुई करोड बुझाएर सांसद बने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका सांसद शेखरकुमार सिंहले साढे दुई करोड बुझाएर सांसद बनेको खुलासा भएको छ।

राजपाका सिंहले साढे दुई करोड बुझाएर सांसद बनेको अडियो सार्वजनिक भएको छ । सिंहले माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन साढे दुई करोड रुपियाँ घुस बुझाएका हुन्।

विवादित सिंह प्रदेश २ बाट राजपाको उम्मेदवार बनेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँगको गठबन्धनपछि सिंह निर्वाचित बनेका थिए।

सुरजीत सिंह र ज्योति झावीच देनदेनकोे संवाद भएका छन् । अडियोमा सांसद सिंहले राजपाका नेताहरूलाई साढे दुई करोड बुझाएको उल्लेख छ।

सांसद शेखरकुमार सिंह र सुरजीत सिंहको पारिवारिक सम्बन्ध राम्रो छैन । उनीहरूको पारिवारिक सम्बन्ध रहेपनि बोलचाल राम्रो छैन।

उनीहरू दुईबीच कुराकानी भइरहँदा पूर्वरक्षा सचिव तिलकराम शर्मापनि मिसिएका छन् । उनीहरूको सम्पादका आधारमा पूर्वरक्षा सचिव शर्माले सांसद सिंहलाई सांसद पदको उम्मेदवार बन्न साढे दुई करोड रुपियाँको व्यवस्था गरेको उल्लेख छ।

पूर्वरक्षा सचिव शर्माले सो कुरा स्वयम् स्वीकार गरेका छन् । ज्योति झा भने पूर्व सचिव तिलकराम शर्माको रकम उठाइदिनका निम्ति पहल गरेका छन् । सांसद बनेपछि सिंह भाग्दै हिँडेका छन् । सो रकम तिर्न सांसद सिंहले अटेर गरेका छन्।

मधेस केन्द्रित दलको नेतृत्वलाई योग्य नेता तथा कार्यकर्तालाई पाखा लगाएर पैसावालाहरूलाई टिकट बेच्ने गरेको आरोप लाग्दै आएको छ । यो अडियोले राजपाका शीर्ष नेताहरूमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ।

अडियो प्रकरणमा शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झालाई सम्बोधन गरेर कुराकानी गरिएको छ । स्रोतका अनुसार पूर्वसचिव शर्मा राजपा नेता शरतसिंह भण्डारी निकटका हुन्।

शेखरकुमार सिंहले ५५०२ मत ल्याएर प्रदेश २ बाट राष्ट्रिय सभामा सांसद बनेका थिए।

(रिपब्लिका दैनिक)