पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घर भित्र

काठमाडौँ। पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमितिको आज बसेको वैठकमा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य–सचिव चेतोनाथ गौतमले लिच्चछवीकालमा नै यी शिवलिङ्ग बनेकाले घरहरु पछि बनेका सहज अनुमान गर्न सकिने बताउनुभयो । पशुपति क्षेत्रमा रहेका कतिपय स्मारकको संरक्षण हुन नसकेको उहाँले बताउनुभयो । कोषको क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका कारण संरक्षण गर्न कठिन भएको हो । कतिपय मन्दिर घरहरुबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनःनिर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।

कोषले यस क्षेत्रको आगामी एक सय वर्षका लागि गुरुयोजना बनाउन लाग्दा यहाँ जग्गाको पुनःनापी गर्नुपर्ने र स्मारकको संरक्षण आवश्यक भएको जनाएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले यस क्षेत्रमा पहिले धेरै किसिमका जात्रा, पर्व सञ्चालन भए पनि अहिले कतिपय हराउन थालेका बताउनुभयो । मन्दिरसँगै आस्थाका हिसाबले जोडिएको वाग्मती नदी फोहर भएकाले यसको सफाइ पनि आवश्यक भएको उहाँको भनाइ छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यस क्षेत्रको विकासमा विभिन्न निकायबीच समन्वय आवश्यक भए पनि अभाव देखिएको छ । यस क्षेत्रमा जुनसुकै समस्या देखिँदा पहिले सबैले कोषलाई भन्ने गरे पनि धेरै कुरा कोषको अधिकार क्षेत्रमा पर्दैन । मन्दिरको जग्गा अहिलेसम्म कोषका नाममा नभएकाले त्यसलाई ल्याउन लागिएको छ । उहाँले भन्नुभयो, “यहाँका कतिपय मन्दिर, सत्तल, जात्राहरु पनि कतिपय गुठीको त कति पुरातत्वको स्वामित्वमा छ ।” कोषका पूर्वसदस्य–सचिव गौतमले यस क्षेत्रमा कतिमा मन्दिर भएका मूर्ति नभएको, कतिमा मूर्ति भएका मन्दिर नभएका र कतिपयमा दुवै भए पनि नियमित पूजाआजा नभएको बताउनुभयो । यहाँ रहेका कतिपय निजी गुठीका मन्दिरमा नियमित पूजा नहुँदा कोषले नै त्यसको व्यवस्था गरिरहेको छ । चक्रपथको चावहिल–गौशाला सडक विस्तारका क्रममा यहाँका धेरै स्मारकलाई नोक्सानी पुग्नसक्ने देखिएको उहाँले बताउनुभयो ।

यहाँका सडकलाई हलुका सवारीसाधन चल्ने सडकका रुपमा विकास गरी वैकल्पिक सडकको खोजी गरिनुपर्ने उहाँले बताउनुभयो । सबैभन्दा ठूलो समस्याका रुपमा बहुस्वामित्व रहेको उहाँले औँल्याउनुभयो । गौशालास्थित प्रहरी कार्यालयले यो क्षेत्रसँगै अरू हेर्नुपर्ने हुँदा पर्याप्त ध्यान दिन नसकिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पशुपतिमा बिहान सबेरैदेखि साँझसम्म मन्दिर, घाट र जङ्गल क्षेत्रमा मानिस हुने भएकाले व्यवस्थापनका लागि प्रहरीको छुट्टै सेल खडा गर्नुपर्छ ।”समितिकी सभापति पवित्रा निरौला खरेलले पशुपति क्षेत्रमा भएका गलत कुराको अन्त्य गर्ने जिम्मेवारी कोषको भएको बताउनुभयो । शिवलिङ्ग व्यक्तिगत घरभित्र रहेको विषयमा सो जमिन पशुपतिनाथको भए कोषले लिनुपर्ने र व्यक्तिको भए कसरी दर्शन गर्ने भनी बाटो खोल्नुपर्नेमा उहाँको जोड छ । कोषले सबै सम्पत्तिको खोजी गरी एकीकृत तथ्याङ्क राख्नुपर्नेमा उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गुमेका जग्गा कहाँ कहाँ कति छ भनी खोज्न जरुरी छ ।”

उपसमितिकी संयोजक सुजिता शाक्यले पशुपति क्षेत्रमा भट्ट र भण्डारीको सेवा, सुविधामा भिन्नता रहेको बताउनुभयो । उपसमितिले विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएका र नभएका बिभिन्न सम्पदाका बारेमा अध्ययन गरिरहेको छ । उहाँले भन्नुभयो, “अध्ययन सकिएपछि सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने योजना छ ।” गुठी सस्ंथानका प्रमुख पुरातत्व अधिकृत सुरेश सुरस श्रेष्ठले सम्पदा क्षेत्रमा विभिन्न निकायबीच समन्वय हुन नसकेकाले समन्वय गर्ने संयन्त्र आवश्यक भएको बताउनुभयो । सम्पदा क्षेत्रमा योजना बनाउँदा सरोकार राख्ने सबै निकाय एकै ठाउँमा बसेर नदोहोरिने गरी बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “सबै निकायको आ–आफ्नो कानून भए पनि समन्वय गर्ने कानून छैन ।”

समितिका सदस्य नारदमनि रानाले पशुपतिनाथले हामी सबैको रक्षा गरे पनि हामीले पशुपतिको रक्षा गर्न नसकिरहेको बताउनुभयो । कोषले सम्पत्ति यति छ भनी एकीकृत तथ्याङ्क राख्नुपर्ने उहाँको सुझाव छ । कोषले धर्मशालामा होटल चलाउन दिएको भनी समितिमा उजुरी परेको छ । मन्दिरमा चढाइएका भेटी, प्रसाद कति आयो र त्यो कहाँ गयो भनी पारदर्शीरुपमा राखिनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “पशुपतिनाथ हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको ठाउँ भएकाले त्यसैै नाममा आएका कुरा पारदर्शी हुनुपर्छ ।” समितिका सदस्य सरलाकुमारी यादवले शिवलिङ्ग व्यक्तिगत घरमा हुँदा त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनी योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।