कोरोनाको प्रभाव : भोलि सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने

काठमाडौ। भोलि सोमबारदेखि सरकारले नेपालमा बिक्री हुने सबै प्रकारको पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट भइरहेको तथा भारतको रिफाइण्ड तेलको मूल्यमा समेत केही गिरावट आएकोले नेपाल सरकारले पनि मूल्य समायोजनको तयारी गरेको हो।

नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारभाउअनुसार पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै आएको छ। १५÷१५ दिनमा हुने मूल्य समायोजन गत १ तारिखमा भने भएन। जसको कारण सरकारले बढाएको करमा नै त्यसलाई मिलान गरेको नेपालको पेट्रोलियम पदार्थको बिक्रेता नेपाल आयल नियमले जानकारी गराएको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले नेपालखबरसँग कुरा गर्दै अघिल्लोपटक सरकारले पूर्वाधार करमार्फत प्रतिलिटर ५ रुपैयाँ कर थप गरेकोले मूल्य समायोजन गर्न नसकिएको जानकारी दिए। उनले भने, ‘तर भोलि (सोमबार) भने अवश्य हुनेछ।’

नेपालले हरेक १५÷१५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्यसँग पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। नेपालले इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको रेटअनुसार पेट्रोल र डिजेलको मूल्य समायोजन गर्दै आएको छ। त्यही रेट (दर)अनुसार नै गर्ने भन्ने विषयमा निगमले छलफल गरिरहेको उनले जानकारी दिए। आईओसीले पनि नयाँ रेट भोलि नै पठाउले उनले जानकारी दिए।