प्रदेश र स्थानीय तह भंग गरौं – सांसद जनार्दन शर्मा

काठमाडौ। पूर्वगृहमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्मा (प्रभाकर)ले संघीयता कार्यान्वयनमा इमान्दार प्रयास नभएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिप्रति केन्द्रबाट अविश्वासपूर्ण व्यवहार भएको भन्दै उनले आ’क्रोश पोखे ।

राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा आक्रोशित हुँदै शर्माले संघीयता कार्यान्वयनको बाटो नखोल्ने हो भने प्रदेश र स्थानीय तह भंग गरिदिए हुने बताए ।

उनले भने, ‘हामी यहाँ प्रतिनिधि छौं भने तलका प्रतिनिधि जनताबाट निर्वाचित होइनन् ? तिनमा जनताको विश्वास छैन ? तिनीहरु राष्ट्रप्रति इमान्दार छैनन् ? हामीमात्र इमान्दार छौं ? त्यसो भए संघमात्र राखौं न त किन चाहियो तल (प्रदेश र स्थानीय तह) । सबै भंग गर्दिऔं ।’

बैठकमा संघीय निजामती सेवा विधेयकका टुंगिन बाँकी विषयमा छलफल भएको थियो । प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघको हुने कि प्रदेशको भन्ने विषयमा छलफल भए पनि टुंगो नलागेपछि समितिको बैठक यही चैत पाँच गतेसम्मका लागि स्थगित गरिएको छ ।

समिति सचिवालयले प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहको हुने गरी प्रस्ताव तयार पारेको छ । सांसदहरुबीच मत बाझिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीले यो विषयमा आफूले राजनीतिक तहमा पनि छलफल गरिरहेको जानकारी गराउँदै थप समय मागेका छन् ।

छलफलमा भाग लिँदै नेकपा सांसद शर्माले प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहकै हुनुपर्ने भन्दै समितिले ल्याएको प्रस्तावको समर्थन गरे । उनले यो प्रस्तावको विरोध गर्नेहरु संघीयता कार्यान्वयनमा इमान्दार नभएको समेत बताए ।