प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर आराम गर्न सुझाव

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ।

अस्वस्थ हुनुभएको कारण प्रधानमन्त्री ओलीले देशप्रतिको कर्तव्य निभाउन नसकेको भन्दै जबराले प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न आग्रह गर्नुभएको हो।

शनिबार काठमाण्डौमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो ‘प्रधानमन्त्री स्वस्थ हुँदा पनि देशको लागि केही गर्नुभएन । उहाँले अब राजीनामा दिँदा नै उचित हुन्छ ।’अध्यक्ष जबराले वर्तमान सरकारले जनतालाई कुनै पनि किसिमको सेवा प्रदान गर्न नसकेको आरोप लगाउनुभयो।

संविधान जारी गर्दा राप्रपा पनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरु एक भएर लड्नुपर्ने भनेर राख्नुभएको प्रस्ताव सकारात्मक भएको जबराले भन्नुभयो।