‘म माथि अन्याय भयो’ : उपाध्यक्ष गौतम

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीले आफूमाथि अन्याय गरेको महसुस भएको आफ्ना निकटवर्तीहरूसँग बताउने गरेका छन्।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने बिषयमा सत्तारूढ नेकपामा चर्को विवाद छ । गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाले पार्टीभित्र तरंग नै पैदा भएको थियो । जुन अहिलेसम्म साम्य हुने कुनै संकेत मिलेको छैन् ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने बिषयमा छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष गौतम शुक्रबार बिहानै खुमलटारस्थित कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुगेका थिए । प्रचण्ड निवासमा उपाध्यक्ष गौतमले पार्टीले आफूलाई पटकपटक अन्याय गरेको भन्दै यसपटक पनि त्यही शृङ्खला दोहोरिने त होइन भन्दै गुनासो पोखेका थिए ।

खुमलटार निकट उच्च स्रोतका अनुसार उपाध्यक्ष गौतमले आफूले देश र पार्टीका लागि लामो समयदेखि निस्वार्थ एउटा सिपाहीजस्तै काम गरिरहेको प्रसंग उल्लेख गर्दै यसपटक आफूमाथि अन्याय हुन नहुने बताएका थिए । जवाफमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले यसपटक अन्याय हुन नदिने प्रतिबद्धता जनाएको स्रोतको दावी छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली बालुवाटार फर्के लगत्तै पार्टी सचिवालय निर्णय कार्यान्वयन गर्न लगाउने प्रतिबद्धता जनाएका थिए भने वरिष्ठ नेता नेपालले आफू कसैलाई पनि अन्याय हुन नदिने पक्षमा रहेको अभिव्यक्ति दिएको स्रोतको दावी छ ।

यसपटक आफूमाथि अन्या’य भए आफू चुप लागेर नबस्ने चे’तावनीसमेत दिएको स्रोतको दावी छ । प्रधानमन्त्री डिस्चार्ज भएसँगै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद पुनः बल्झिने संकेत देखिएको छ।