यी चार नाकाबाट मात्र नेपाल-भारत आवतजावत गर्न मिल्ने

काठमाडौं । कोरोना भाइरसको सं’क्रमण बढ्दै गएपछि भारत सरकारले सिमानामा कडाई गरेको छ । महामारीलाई रोकथाम गर्ने मुख्य उद्देश्यले भारतले नेपालसँग जोडिएका चार नाकबाहेक सबै नाका बन्द गर्ने भएको छ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी भारतले बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाका मात्र खोल्ने भएको छ।

अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् । नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन्।

भारतको गृहमन्त्रालयका अनुसार भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने छ । तर तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन्।

प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ।

कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको छ । नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गर्ने निर्णय भारतले गरेको छ।