आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति छ, १५ महिनापछि ओलीले मलाई सत्ता सुम्पिनेछ – प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे ।

पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने प्रचण्डको भनाइ छ । प्राइम टेलिभिजनका लागि ऋषि धमलासँग गरिएको कुराकानीमा क्रममा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी आफूले पाएको खण्डमा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने बताए ।

तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

गोप्य सहमितमा प्रचण्ड र ओलीले हस्ताक्षर गरेका छन् भने साथीएका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।

ऋषि धमलासँगको गफगाफमा प्रचण्डले यसो भनेका छन् –

‘पार्टी एकता गर्दा पक्कै पनि हाम्रोवीचमा समझदारी भएको छ । हामीले सहमतिबाट नै निर्णय गरेर जानुपर्छ । पार्टीमा र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने नै भन्ने सहमति छ । त्यो लिखितै छ । त्यो बाहिरै आइसक्या छ । त्यो किताबमा छापिएरै आइसक्या छ । त्यसकारण यो के हो भनेर धेरै प्रश्न गरिराख्न आवश्यक म ठान्दिनँ । आलोपालोमा जाने सहमति भएकै छ ।

केपीजी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरामा नै हामी प्रतिवद्ध छौं । त्यसकारण अहिले म आशंका गर्न पनि चाहन्न । यो विषय फेरि के हो भने उहाँ र मवीच सहमति भयो, पार्टीभित्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ । मलाई चैं प्रधानमन्त्री लिन हतारो विल्कुलै छैन ।’