टिपर चालकसँग कागजपत्र माग्दा सय रुपयाँ दिएपछि…

काठमाडौँ । काभ्रेमा पहिलोपटक प्रहरीलाई घुस दिन खोज्ने टिपर चालक पक्राउ परेका छन् । जिल्लाको नाका साँगा हुँदै काठमाडाैंस्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिन खोज्दा टिपर चालकलाई नियन्त्रणमा लिएको बताइएको छ।

नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीबाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी साँगामा कार्यरत प्रहरी हवल्दार दीपेन्द्र कार्कीले आइतबार बिहान साढे पाँचको समयमा साँगा नाकास्थित डिउटीमा रहेको वेला चालकलाई कागजपत्र मागेका थिए ।

रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा सय रुपैयाँ थमाएपछि प्रहरी हवल्दार कार्कीले तत्कालै साँगा नाकाका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतलाई जाहेरी गरेका थिए । उनलाई पनि तामाङले नगद पाँच सय दिन खोजेपछि बस्नेतले उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बनेपामा बुझाएको बताए ।

यता इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले घुस दिन खोज्ने जोसुकै भए पनि त्यसउपर पनि कारबाही हुने र मुद्दा चलाइने बताए । ‘प्रहरी सहायक निरीक्षक बस्नेत आउने बित्तिक्कै चालक सरोज तामाङले पाँच सय निकालेर दिएपछि प्रहरीले तत्कालै तामाङलाई नियन्त्रणमा लिएका हौँ’, प्रहरी निरीक्षक तिमल्सिनाले बताए ।

टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ परेका तामाङलाई ०७४ को आचार संहिताअन्तर्गत अभद्र दुव्र्यवहारमा मुद्दा चलाइने भएको छ । यता साँगा नाकामा कार्यरत बस्नेतले भने राज्यको नियमअनुसार सबै चल्नुपर्छ । यदि कोही विपरीतमा जान्छ भने कारवाही त भोग्नु नै पर्छ । चालकले यसरी घुस दिँदा क्षणिक रूपमा कसैले लाभ लिए पनि दुर्घटना निम्त्याउने, ओभरलोड र अरू आवागमनमा असर पुग्ने भएकोले गर्दा यसलाई कडाइका साथ हेरिनुपर्ने र आफू सोही राज्यको पक्रियाअन्तर्गत चल्दै आएको बताए ।

उनले यदि कसैले आफूलाई प्रलोभनमा पार्न खोज्छ भने त्यसलाई कानुनअनुसार निरुत्साहित गर्नुपर्छ । यो हाम्रो कर्तव्य पनि हो । उनको यो कदमप्रति सामाजिक सञ्जालमा वाहीवाही पाइरहेको छ भने केही व्यवसायीले आलोचनात्मक प्रतिक्रिया दिन थालेका छन् । उनीहरूले यसअघिको प्रहरीले त्यो काम किन गर्न नसकेको हो ? या चालकले नदिने गरेका हुन् ? या त दिएर लिने गरेका हुन् भन्ने जस्ता विषयहरूलाई उठान गरेका छन् ।

काभ्रे जिल्लाबाट साँगा नाकाहुँदै काठमाडाँै जाने मालबाहक टिपरहरूको संख्या प्रतिदिन हजारदेखि १५ सयको संख्यामा गुड्दै आइरहेको छ । काभ्रेको पनौतीहुँदै बनेपा, रामेछाप सिन्धुली हुँदै बनेपा, अरनिको राजमार्ग, सिन्धुपाल्चोक, दोलखा हुँदै बनेपा, काभ्रेकै विभिन्न नदीहरू सुनकोसी, इन्द्रावती लगायतका नदीहरूबाट निर्माण सामग्री लिएर काठमाडांै उपत्यका प्रवेश गर्दै आएका छन् । सौर्य अनलाइनमा शुकदेव थपलियाले खबर लेखेका छन् ।