आफ्नो देश आएका अमेरिकीलाई कोरोना देखिएपछि भुटानका प्रधानमन्त्रिले जनतालाई दिए यस्ता सुझाव (भिडियो)

एजेन्सी। झन्डै ३ हजार ६ जनाको ज्या’न लिएर विश्वभर त्रा’स फैलाइरहेको कोरोना भाइरस सानो हिमाली मुलुक भुटानमा पनि पुगेको छ। भुटान भ्रमणमा आएका एक अमेरिकी नागरिकलाई कोरोना भाइरस देखिएको हो। गत बिहीबार ती ७६ वर्षीय अमेरिकीलाई कोभिड-१९ भएको पुष्टी भएको हो।

आफ्नो देशभित्र कोरोनाभाइरस देखिएपछि त्यसको रोकथामका लागि सानो मुलुक भुटानले चालेका कदम भने उल्लेखनीय छन्। भुटानले ती अमेरिकीबारे संकलन गरेका सूचना र तत्कालै चालेका कदमबाट कोरोनालाई सरकारले कति गम्भीरताका साथ लिनुपर्छ र सावधानी अपनाउनु पर्छ भन्ने देखिन्छ।

अमेरिकी नागरिकमा कोरोना देखिएपछि भुटानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भुटानमा उनले के-के गरे भन्ने विस्तृत खुलाइएको छ। ती अमेरिकी नागरिक मार्च २ मा भारतको गुवाहटीबाट ड्रुक एयरको फ्लाइट नम्बर केबी २४१ को जहाज चढेर पारो विमानस्थलमा पुगेका थिए। फेब्रुअरी १८ मा वासिङ्टनबाट यात्रा सुरू गरेका उनी फेब्रअरी २१ देखि मार्च १ सम्म भारत घुमेका थिए। उनी आफ्नी ५९ वर्षीया पत्नीसँग यात्रामा निस्केका थिए।

यो दम्पत्ति गुवाहटीबाट पारो आउँदा चढेको विमानमा १० जनामात्र यात्रु थिए, बाँकी ८ जना भारतीय नागरिक हुन्। पारो विमानस्थलमा ती अमेरिकीको कोरोना भाइरसको परीक्षण गरिएको थियो तर उनलाई ज्वरो देखिएको थिएन।

त्यही दिन दिउँसो राजधानी थिम्पु पुगेपछि पेट ढुस्स भएर अप्ठेरो भएको भन्दै उनी एक अस्पतालको ओपिडीमा जचाउन गएका थिए। रक्तचापको समस्या भएका नियमित त्यसको औषधी खाइरहेका थिए। अस्पतालमा पनि उनलाई ज्वरो देखिएन।

अस्पतालबाट फर्केर उनीहरू ले मेरिडियन भन्ने होटलमा बसे। अर्को दिन पनि उनीहरू बिहानभरि होटलमै बसेर दिउँसो पेट दु’ख्यो र पखाला लाग्यो भनेर जचाउन अस्पताल पुगे। त्यो दिन पनि उनलाई कोरोना देखिएन।

अर्को दिन उनीहरू पुनाखा भन्ने ठाउँ गए। बाटोमा उनीहरू चिया र बिहानको खाना खान दुई ठाउँमा रोकिए। साँझ उनीहरू डेन्सा बुटिक रिसोर्टमा बसे। साँझ हिँडेर बजामसम्म पुगे र रिसोर्टमा फर्किए।

अर्को दिन थिम्पु आएर उनी फेरि अस्पतालमा देखाउन गए। त्यो दिन उनलाई ज्वरो, घाँटीमा समस्या, खोकी र सास फेर्न अप्ठेरो भएको थियो। त्यसपछि उनलाई कोभिड-१९ लागि बनाइएको अस्पतालमा लिएर निगरानीमा राखियो। र नमूनाहरू संकलन गरेर जाँचका लागि पठाइयो। परीक्षणबाट उनलाई कोरोना भाइरस देखिएपछि आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ। उनलाई कृत्रिम अक्सिजन पनि दिइयो।

ती अमेरिकीलाई कोरोना देखिएपछि राष्ट्रिय तयारी तथा प्रतिरक्षा योजनाअनुसार तत्काल काम थालियो। राजा आफैं कसरी काम भइरहेको छ भनेर अनुगमन गर्न निस्किए।

‘स्वास्थ मन्त्रालयका अधिकारीहरूले रातभरि काम गरे। राजा स्वंय पनि काम कसरी भइरहेको छ भनेर हेर्न आउनुभयो,’ अर्को दिन भुटानको सरकारी रेडियोलाई नेपाली भाषामा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री डाक्टर लोटे छिरिङले भने,‘म पनि रातभरि सुतेको छैन। हामीले अहिले सबै काम सकेका छौं।’

नागरिकहरूलाई सरकारको तयारीबारे जानकारी दिन र आश्वस्त रहन प्रधानमन्त्री छिरिङ आफैं सरकारी रेडियोमा पुगेका हुन्। भुटानले ती अमेरिकीसँग सम्पर्कमा आएका ९० जनाको रेकर्ड तयार पारेको छ। स्वास्थ्य अधिकारीहरूले अरू मानिसको पनि खोजी गरिरहेका छन्। उनको भ्रमण विवरण हेरेर पारो विमानस्थलदेखि पुनखासम्म पुग्दा उनीसँग को-को भेटिए भन्ने पत्ता लगाइएको हो।

उनीसँग सबैभन्दा नजिक उनकी पत्नी, चालक र गाइड रहेको देखिएको छ। उनीहरू तीनै जनालाई क्वारेन्टाइनमा राखिएको थियो। जहाजमा उनीसँग आएका ८ जना भारतीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य मन्त्रालयले उक्त जहाजका चालक दलका सदस्य, ती अमेरिकी बसेका होटल र रिसोर्टका कर्मचारीलाई घरमै क्वारेन्टाइनमा बस्न भनेको छ। उनीहरूलाई परिवारका सदस्यहरूसँग पनि सम्पर्क नगर्नू भनिएको छ। उनीहरूलाई १४ दिनसम्म स्वास्थ्यकर्मीहरूले निगरानी गर्नेछन्।

कोभिड-१९ का एउटा बिरामी देखिएपछि भुटानले देश अब ‘ओरेन्ज जोन’मा गएको भन्दै त्यहीअनुसार तयारी थालेको छ। थिम्पु, पारो र पुनाखाका सबै शिक्षण संस्था मार्च ६ देखि दुई साताका लागि बन्द गरिएका छन्। अभिभावकहरूलाई आफ्ना बच्चाहरूको स्वास्थ्यबारे विशेष चनाखो हुन भनिएको छ।

दुई हप्ताका लागि विदेशीलाई भुटान प्रवेश रोक लगाइएको छ भने सरकारले आयोजना गरेका सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन दुई साताका लागि रोकिएका छन्। दुई सातासम्मको अवस्था हेरेर त्यसपछि सरकारले थप निर्णय गर्ने बताइएको छ।

सरकारले नियमित रूपमा अवस्थाबारे जानकारी दिने भएको छ। नागरिकहरूलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन भनिएको छ। भीडभाड हुने ठाउँमा नजान र शंका लागेमा अरूसँग सम्पर्क नगर्न सुझाव दिइएको छ।