प्रम ओलीको दुई वर्षे कार्यकाल देशका लागि दुभाग्यपूर्ण : डा. भट्टराई

काठमाडौ। समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नु भएकाे छ ।

पार्टीको काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा डा. भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताउनुभयो ।

दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक, राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्नेगरी काम गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको लगायतका क्षेत्रमा सरकारले गर्नसक्ने काम समेत नगरेको उल्लेख गर्दै भट्टराईले गर्न नहुने कामहरु भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झैँ-झगडाका कामहरु गरेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारको भविष्य समेत सकिएको टिप्पणी गर्नुभयो ।

सत्तारुढ दलभित्र भागबण्डाको लडाईँ सुरु भएको उल्लेख गर्दै भट्टराईले अर्को निर्वाचनमा देश नयाँ ध्रुविकरणसम्म जाने भएकाले त्यसको तयारीमा लाग्न जिल्ला कमिटीहरुलाई निर्देशन समेत दिनुभयो ।

समाजवादी पार्टीलाई देशको विकल्पका रुपमा अगाडि बढाउन नसकेपनि परिवर्तनको प्रकृया नरोकिने र अर्को कुनै शक्ति आएर यसलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।

शुक्रबार तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालका काठमाण्डौ , ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन गरिएको छ ।