बाँस्कोटालाई पुनः सञ्चारमन्त्री बनाउन नेपाल समुह सक्रिय

काठमाडौं। स्वीच कम्पनीसँग सेक्युरिटी मेसिन खरिद गर्न सत्तरी करोड कमिसन मागेको अडियो बाहिरिएपछी पदबाट राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अदालतबाट चोख्याएर पुनः सञ्चारमन्त्री मै ल्याउने तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली समुहलाई वरिष्ठ नेता माधवकुमार नेपाल समुहले पनि साथ दिने भएको छ । बाँस्कोटाको प्रकरणमा सत्तारूढ नेकपाका नेपाल समुहका नेता विष्णु रिजालले समेत यो बाँस्कोटा दोषी नभएको संकेत गरेका छन् । उनले आजमात्रै आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै बाँस्कोटाको बचाउ गरेका छन्।

हिजो उनले सामाजिक संजाल फेसबुकमा ओली समुहले झै बाँस्कोटा निर्दोष रहेको भन्दै लेखेका छन्,‘अडियो टेपमार्फत आफ्नाबारेमा प्रश्न उठेकाले गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिइसकेकाले बाँकी कुरा त्यो प्रश्न निरुपणसँगै टुंगिएलान् । तर, दुईवटा कुरा चाहिँ सुरुदेखि नै स्पष्ट छन् । पहिलो, अडियो टेपमा उल्लेख गरिए अनुसारको स्वीस कम्पनीसँग सुरक्षण मुद्रणसम्बन्धी नेपाल सरकारको कुनै कारोबार भएको छैन । उक्त कम्पनी छनोट प्रक्रियामा सामेल नै भएको छैन, यतिसम्म कि कुनै पत्राचार पनि भएको छैन । यसर्थ, कुनै आर्थिक कारोबार नै नभएको कम्पनीसँग जोडेर भ्रष्टाचारको सामान्य आशंका गर्न पनि सकिँदैन । दोस्रो, अडियो टेपलाई नै आधार बनाउने हो भने पनि २७ र २८ अर्बमा प्रेस ल्याउन सकिने उल्लेख छ ।

जबकि, फ्रान्सको कम्पनीसँग अघि बढाइएको र सम्झौताका लागि अन्तिम अवस्थामा पुगेको प्रस्तावमा २३ अर्बमा प्रेस ल्याउने कुरा टुंगिएको छ । यदि भ्रष्टाचार नै गर्ने हुँदा त त्यही २७ र २८ अर्बको प्रस्ताव अघि बढाइन्थ्यो होला न कि ४ र ५ अर्ब कमको प्रस्ताव । गोकुलजीले मन्त्रीको कुर्सीमा बसेर कुन प्रसँगमा लापरवाहीपूर्ण रुपमा मन छाम्ने हिसाबले वा बजार मूल्य कति रहेछ भनेर बुझ्ने हिसाबले कुरा गर्नुभयो, त्यसको नैतिक जिम्मा लिएर मूल्य चुकाइसक्नुभएको छ । बाँकी त सम्बन्धित निकायहरुले निक्र्यौल गर्लान् ।

यसरी बाँकोटाले गल्ती नगरेको भन्दै नेपाल समुहले पनि ओली समुहसग मिलेर बास्कोटालाई सञ्चारमन्त्रीमा पुनः स्थापित गर्न खोजेको राजनीतिक बृतमा गाइगुई चलेको छ।