यी महान व्यक्ति जस्ले गाउँपालिकालाई डेढ करोड मूल्यको जग्गा दान गरे

टिकापुर। कैलालीको टीकापुर नगरपालिका–१ का व्यवसायी कर्णप्रताप राणाले जानकी गाउँपालिकालाई झन्डैं डेढ करोड मूल्यको जग्गा दान गरेका छन् ।

गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि ७४ वर्षीय राणाले जग्गा दान गर्नु भएको हो । जानकी गाउँपालिका – १ को दुर्गौलीमा २०६० सालदेखि दीप इँट्टा टायल उद्योग सञ्चालन गर्दै आएका राणाले १ विघा १२ कठ्ठा १० धूर जग्गा गाउँपालिकालाई दान गरेको बताए । साँघुरो भाडाको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन भएको देखेपछि जग्गा दान गरेको बताउदै राणााले उमेरले उद्योग सञ्चालन गर्न नसकिने भएकाले भएको जग्गा गाउँपालिकालाई दान गर्दा राम्रै होला भनेर गरेको बताए ।

उनले जानकी गाउँपालिका – १ दुर्गौलीमा रहेको १ विगाह १२ कठ्ठा १० धुर जमिन जेठ १२ गते गाउँपालिकाको नाममा नामसारी गरि दिएका हुन । राणाले २०६० सालमा दीप इँट्टा उद्योग सञ्चालनका लागि साढे १५ विगाह जग्गा किनेका थिए । गाउँपालिकाले राणालाई कार्यपालिका बैठकमा सम्मान सहित धन्यवाद व्यक्त गरेको छ । गाउँपालिकाको भवन बनाउन जग्गा खोजिरहेका बेला जग्गा दान गर्ने राणाको सम्मानमा भव्य समारोह गर्ने गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । सार्वजनिक बाटोको लागि समेत एक धूर जग्गा छोड्न कोही तयार नहुने अवस्थामा उद्योगी राणाले जग्गा दान गरेको भन्दै अध्यक्ष चौधरीले दानवीरको सम्मानका लागि हामी भव्य समारोह गर्ने बताए ।