प्रधानमन्त्रीलाई भेटेर आएपछि अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं। अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन्। मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त भएका खतिवडाको सांसद्को कार्यकाल आजदेखि सकिन लागेकाले उनले राजीनामा दिएका हुन्। मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत उनले राजीनामा बुझाएका छन्।

राजीनामा स्वीकृत गरेपछि उनी पुनः भोलि मन्त्रीको रूपमा नियुक्त हुनेछन्। भोलि नै मन्त्रीको रूपमा खतिवडाले सपथ लिने प्रधामन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था भएकाले त्यही व्यवस्थालाई टेकेर खतिवडालाई पुनः नियुक्त गर्न लागिएको हो।