होलीमा दुई दिन सार्वजनिक बिदा !

जनकपुरधाम। होलीको अवसरमा प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा एक दिनमात्र सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले होलीको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । १५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि यस क्षेत्रमा होली मनाइन्छ ।

फागुन २५ गते यहाँ पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइने भएको छ । संघीय सरकारले पहाडका जिल्लाहरुमा फागुन २६ गते होलीको विदा दिएको छ । त्यस्तै कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको स’ङ्क्र’मणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टर बाँस्तोलाले बताउनुभयो । भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ । यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ । स’ङ्क्र’मण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सल्लाह दिएका छन् । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ ।