सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश बन्यो लक्जम्बर्ग

लक्जम्बर्ग। युरोपको सुन्दर र धनी देश लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश भएको छ । आज आइतबार (२०२० मार्च १) देखि लागू हुने साे व्यवस्था अनुसार सार्वजनिक यातायातमा सर्वसाधारणले देशैभर निःशुल्क यात्रा गर्न पाउने भएका हुन् ।लक्जम्बर्गका यातायातमन्त्री फ़्रान्कोईस बऊसले आज लक्जम्बर्गबासीको खुशीको दिन भएको र यो दिन ‘ग्रेट डे ’ रहेहो आफ्नो घोषणा सन्देशमा बताएका छन् ।

लक्जम्बर्गको राष्ट्रिय रेल सेवाका प्रथम श्रेणी र केही रात्रिकालिन बस सेवामा बाहेक अन्य सम्पूर्ण ट्राम, बस र रेल सेवा लगायतमा यो सुविधा प्रदान गरिने भएको हो ।संसारकै १ सय ६७ औँ ठुलो र नेपालजस्तै भू-परिवेष्ठित मुलुक लक्जम्बर्ग तुलनात्मक रुपमा सानो र निकै थोरै जनसंख्या भएको मुलुक हो । यहाँको जनसंख्या ६ लाख १४ हजार मात्र छ । लक्जम्बर्ग संसारमै शान्त, सम्पन्न र धनी देशको रूपमा चिनिन्छ।

बहुभाषिक मुलुक लक्जम्बर्गमा जर्मन, बेल्जिक र फ्रेन्च अफिसियल भाषा प्रचलनमा रहेको छ । यहाँ काम गर्नका लागि फ्रान्स, बेल्जियम र जर्मनीलगायत देशबाट झन्डै २ लाख कामदार दिनहुँ आवतजावत गर्ने अनुमान गरिन्छ ।

यो व्यवस्था श्रमिक र आफ्ना नागरिकले प्रयोग गर्ने निजी कार र त्यसबाट हुने ट्राफिक समस्याका साथै प्रदुषण घटाउन सार्वजनिक यातायात प्रयोगमा आकर्षण बढाउनका लागि यहाँको सरकारले यो योजना ल्याएको हो । यो नियमसँगै यातायात कम्पनीलाई हुने करिब ४१ मिलियन युरो घाटा सरकारले राजस्वबाट प्राप्त रकमले क्षतिपूर्ति गर्ने जनाइएको छ ।