अडियोमा बास्कोटाले हामी भनेर कसलाई भन्न खोजेको हो ? : देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको एक सातासम्म पनि छानबिन शुरू नहुनु गम्भीर भएको बताएका छन् ।

तत्कालीन मन्त्री बाँस्कोटाले कमिसन बार्गेनिङ गर्दा ‘हामी’ भनेको उल्लेख गर्दै देउवाले हामी भनेर कसलाई भन्न खोजेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जफाव समेत माग गरे।

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै नेता देउवाले ७० करोड सम्बन्धमा छानबिन गर्ने निकायले छानविन शुरू नगर्दै बाँस्कोटाको अडियो नक्कली हो भनेर प्रधानमन्त्रीले आफ्नो विश्वसनीयता गुमाएको टिप्पणी पनि गरे ।

‘सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्रीले ७० करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको हप्तादिन पुग्दा पनि छानबिन नहुनु, सञ्चारमन्त्रीले हामी भनेर कसलाई भनेका हुन्, हामीभित्र को–को हुन्, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ देउवाले भने, ‘छानबिन गर्ने निकायले छानबिन शुरू गर्नुभन्दा पहिला अडियो नक्कली हो भन्ने प्रधानमन्त्रीको बोलीको विश्वसनीयता कमजोर भएन ?’

देउवाले ७० करोडको अडियोबाट ध्यान मोड्नका लागि नेपाल ट्रस्टको जग्गामा आफ्नो नाम मुछेको आरोप लगाए । उनले सरकारले पेट्रोलियम पदार्थका कर बढाउने काम गरेको भन्दै यसलाई रोक्न माग समेत गरे ।