प्रधानमन्त्री छाड्न ओली तयार, तर वामदेवलाई सांसद नबनाउने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नबनाउने अडान पार्टीभित्र कायम राख्ने भएका छन् । राष्ट्रिय सभाको मनोनित कोटामा गौतमलाई सिफारिस गर्ने पार्टी सचिवालय बैठकको निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले आफ्नो अडानबाट पछि नहट्ने नेताहरुलाई स्पष्ट पारेका छन् ।

ओली आफ्नो अडानबाट पछि नहट्ने जानकारी पाएपछि शुक्रबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपालबीच छलफल भएको छ । बुधबार बसेको सचिवालय बैठकले मनोनित कोटामा गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले त्यस निर्णयप्रति विमति जनाउँदै युवराज खतिवडालाई नै निरन्तरता दिने बताए ।

तर, पार्टीको निर्णय नमान्ने हो भने नेकपाबाट बाहिरिन झलनाथ खनालले ओलीलाई चेतावनी दिए । खनालको चेतावनीपछि ओली आफू प्रधानमन्त्री छाड्न तयार रहेको तर वामदेवलाई राष्ट्रिय सभामा लैजाने विषयमा सहमत हुन नसक्ने नेताहरुलाई बताएका छन् । वामदेवविरुद्धको जनमत आफूसँग रहेको भन्दै ओलीले उनलाई राष्ट्रिय सभामा लैजान नहुने भन्दै अडान कायम राखेका हुन् ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा वामदेव गौतम बर्दिया १ बाट पराजित भएका थिए । जनताबाट पराजित भएका गौतमलाई मनोनितमा लैजान नहुने सोचमा ओली छन् । जनताबाट पराजित भएकालाई राष्ट्रिय सभा हुँदै प्रधानमन्त्री बनाउन लागेको भन्दै सरकार र नेकपाको चर्काे आलोचना भइरहेका बेला प्रधानमन्त्री ओली आफ्नो अडानबाट पछि नहटेका हुन् ।