प्रधानमन्त्री जन्मदिनमा केकको विषयलाई लिएर आलोचना गर्नेलाई शान्ताको कडा जवाफ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शाता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा काटेको केकको विषयलाई लिएर आलोचना गर्नेलाई कडा जवाफ दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै सांसद चौधरीले सबैले कागको पछि नलागेर आफ्नो कान छाम्ने काम गर्न आग्रह गरेकी छन्। उनले प्रधानमन्त्रीले काटेको केकको आलोचना गर्नुभन्दा कसरि अघि बढ्दा विकास निर्माणका काम सजिलै सम्पन्न होलान भन्ने जस्ता बिसयमा बहस चलाउनु राम्रो हुने बताएकी छन् ।

‘रास्ट्र प्रेमको प्रतिक हुने गरि शुभेच्छुकहरुले केकमाथी नेपालको नक्सा बनाए । बिरोध गर्नु पर्ने के छ यो विषयमा ? फेरी प्रधानमन्त्रीले नक्साकृति काटेको पनि होईन ।’

उनले लेखेकी छन्, ‘कस्तो केक थियो भनेर समय खर्च गर्नुभन्दा बरु प्रधानमनमन्त्रीको समृद्धिको योजना र कार्यक्रममा तपाईको सुझाब के छन्, कसरि अघि बढ्दा विकास निर्माणका काम सजिलै सम्पन्न होलान् भन्ने जस्ता बिसयमा बहस चलाउनुस् । सबैले कान छाम्ने काम गरम, कागको पछि नलागम । सकारात्मक सोचका साथ देश विकासको अभियानमा एक ढिक्का भएर अघि बढ्नुस् ।’

उनले प्रधानमन्त्रीलाई पुनः जन्मदिनको शुभकामना दिँदै समृद्धिको अभियानमा सफलता प्राप्त होस् भन्ने कामना समेत गरिन् । आइतबार प्रधानमन्त्री ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा नेपालको नक्सा बनाएको केक काटेर ६९ औं जन्मदिन मनाएका थिए । नेपालको नक्सा बनाएको केक काटिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको विरोध भएको छ ।