प्रधानमन्त्री नै भन्थे, ‘जन्मदिनको केक जस्तो होइन मेरो देश’ : यही भाषणबाट मनोज गजुरेलले रचे यो गीत

‘जन्मदिनको केक जस्तो होइन मेरो देश,

च्वाट्ट काटी बाँडी खायो पहाड मधेश……’

मनोज गजुरेलको गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ। कारण – केककै कारण।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिका पुगे। गाउँपालिका नै बिदा दिएर तामझामका साथ पुर्ख्यौली घर पुगेका उनले नेपालको नक्सासहितको केक काटे। गीतमा भने झैं ओलीले केक च्वाट्ट काटी पहाड मधेश बाँडी खाए।

नक्सासहितको केक काटेका तस्विरहरु सामाजिक सञ्जालमा जब सार्वजनिक भयो तब ओलीको आलोचना सुरु भयो। राजनीतिक विश्लेषक मुमाराम खनालले देशकै नक्सालाई केक बनाएर काट्दा हात कामेनन् भन्दै प्रश्न गरे। मुमाराम जस्तै धेरैले केक काटेको विषयलाई लिएर आक्रोश पोखे। कतिपयले व्यङ्ग्य गरे र केहीले सुझाव दिए।

जब केक काटियो तब गजुरेलले ‘जन्मदिनको केक जस्तो होइन मेरो देश’ एकाएक चर्चामा आएको हो। त्यसो त नेपालका चर्चित कमेडियन कहलिने गजुरेलले समेत उक्त गीत आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा आजै शेयर गरेका छन्।

उनले भिडियो शेयर गर्दै प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन फोटो खोज्दै गर्दा त्यहिबेला देश आकारको केक काटिदै गरेको समाचार सार्वजनिक भएको उल्लेख गरेका छन्।

पाँच वर्षअघि गजुरेलले नै तयार पारेका हुन् गीत। उनकै शब्द, संगीत र स्वर रहेको गीतमा कलाकारहरु सीताराम कट्टेल (धुर्मुस), निर्मल शर्मा, शिवहरि पौडेल, दीपकराज गिरीलगायत फिचर्ड छन्। अहिले सामाजिक संजाल प्रयोगकर्ताहरुले गीतका विभिन्न भागहरु पोस्ट गरी केक काट्ने विषयले देश नै टुक्रा भइरहेको टिप्पणी गरिरहेका छन्।