बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्छ – गृहमन्त्री थापा

मकवानपुर। गृहमन्त्री रामबहादुर थापाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने बताउनुभएको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने गृहमन्त्री थापा बताउनु भएकाे हाे।

गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले सभामुख प्रकरणको हल भइसकेको र अहिले मन्त्रीको विषयमा सरकारले पनि छानबिन गर्ने बताउनुभयो।

‘बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ,’वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा आउनुभएका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘यो विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ । उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ।’

नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताउनुभयो । उहाँले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गर्नुभयो।