प्रधानमन्त्रीको जन्मदिन मनाउन तेह्रथुममा गरिएको तयारी

तेह्रथुम। प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् । उनको जन्मदिन मनाउन तेह्रथुममा भब्य तयारी गरिएको छ । पहिलो पटक जन्मदिन मनाउ तेह्रथुम जान लागेका प्रधानमन्त्रीको स्वागतमा सर्वसाधारण विहानै देखि बसेका छन् ।

जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुम आठराई जाँदैछन् । प्रधानमन्त्री ओली तेह्रथुममा जन्मिएका हुन् । तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् । त्यसका लागि महिनौ दिन देखि तयारी सुरु गरिएको थियो । हेलिप्याड निर्माण, वाटो निर्माणका काम गरिएको थियो ।

आफ्नो जन्मदिन मनाउन इवा जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए । उनले सो घर १० लाख रुपैयामा किनेका थिए ।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिएको हो ।

साथै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि भनेको छ । ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको थियो भने २०२० सालमा ओली परिवार झापा बसाईं सरेको थियो।