मन्त्री पदबाट राजीनामा दिएका बास्काेटाकाे कार्यकक्षमा यस्ताे लेखेकाे पाइयाे

काठमाडौ। निवर्तमान मन्त्री गोकुल बास्कोटाको कार्यकक्षमा ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताकाे लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।’ लेखेकाे पाइयाे । तर यसकाे ठिक विपरीत उनले काम गरेका छन्। जसकाे सडकदेखि सदनमा समेत जाेडदारका साथ मुद्दा उठेकाे छ।

सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा परेपछि मन्त्री बाँस्कोटाले बिहीबार राजीनामा दिएका हुन्। कमिसन रकमका बारेमा गरेको ‘डिल’को अडियो बिहीबार बिहानैदेखि भाइरल भइरहेको थियो।

सेक्यूरिटी प्रेससँग सम्बन्धित एक एजेन्ट विजयप्रकाश शर्मासँगको कुराकानी रहेको अडियो रेकर्डमा मन्त्री बाँस्कोटाले बढी कमिशन आउने उपायबारेमा छलफल गरेका छन्। अडियोमा ७० करोडसम्मको रकममा छलफल भएको सुन्न सकिन्छ।

बहालवाला मन्त्री नै करोडौं कमिसनको विवादमा मुछिएपछि पार्टीभित्र र बाहिर उनको राजीनामाको माग उठेको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि उनलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका थिए।