‘नेपालमा पनि कम्युनिस्ट सिद्धिने खतरा देखियो’ – प्रचण्ड

भक्तपुर। पूर्व माओवादी रहेका निकै प्रभावशाली नेता कृष्णवहादुर महरा केही दिन अघि लामो हिरासत वसाईपछि बाहिर निस्किए । उनी निस्किएको केही दिन बित्न नपाउँदै तत्कालिन नेकपा एमालेका अर्का प्रभावशाली नेताले मन्त्रीपदवाट राजिनामा दिनुपर्यो । एक पछि अर्काे प्रभावशाली नेताको वास्तविकता वाहिरिन थालेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा कम्युनिष्ट सिद्धिने खतरा बढेको देख्न थालेका छन् ।

उनले कम्युनिष्ट सत्तामा पुगेपछि सिद्धिने खतरा देखिएको टिप्पणी गरेका छन् । सत्तामा पुगेपछि कम्युनिस्टहरुले आफैंलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतराका संकेतहरु पैदा भएको छ उनले भने । भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले अहिले नै यसबारे भन्न हतार भएपनि संकेत राम्रो नदेखिएको बताए ।

सत्तामा नहुँदा जनताको मन जित्ने कम्युनिस्टहरु शासनमा पुगेपछि आदर्शबाट विचलित हुने गरेका विश्वको इतिहास रहेको बताए । उनले भने, ‘कम्युनिस्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचिलत हुने गरेका छन् । नेपालमा पनि त्यस्तै भइसक्यो भन्ने त हैन । तर संकेत त्यस्तै देखिएको छ ।’