‘सञ्चारमन्त्रीको समाचार मेरो मिडियाले छापेन’ भन्दै, पत्रकार ढुँगानाले दिए राजीनामा

काठमाडौं। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरणको अडियो हाम्राकुरालाई मात्र होइन यस अघि अन्य समाचार माध्यममा पनि पुगेको पुष्टि भएको छ । तर अन्य समाचार माध्यममा सो सम्बन्धि समाचार प्रकाशन भएन । एक जना पत्रकारले आफु कार्यरत समाचार माध्यमले सञ्चारमन्त्री सम्बन्धि सो समाचार प्रकाशन गर्न नसकेकोमा ग्लानी ब्यक्त गर्दै राजिनामा दिएका छन् । सो अडियो आफुले पनि प्राप्त गरेको र समाचार प्रकाशन गृहले छाप्न नमाने पछि त्यती ठूलो मुद्दा आफुले ब्रेक गर्न नपाएको उनको भनाई छ । उनले कार्यरत समाचार संस्थावाट राजिनामा दिएका छन् ।

उनले आफ्नो पत्रकारितामा निक्कै नमिठो अनुभव रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका छन् । उनको फेसवुक पेजवाट उनी नयाँ पत्रिकामा कार्यरत रहेको देख्न सकिन्छ । पत्रकार पुष्प ढुंगानाले बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु।’