बालुवाटार जग्गा प्र’करण: तानिए पूर्वमन्त्री बोगटी पनि

काठमाडौं। बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको छ ।

उनकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमार्फत मोहीलाई दिने प्रक्रिया सुरु गरेको अनुसन्धानमा खुलेको खबर आजको नयाँ पत्रीका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

मन्त्री बोगटीले नै त्यससम्बन्धी टिप्पणी सदर गरेको मन्त्रिपरिषद्मा पेस गरेका थिए । तर, मन्त्रिपरिषद्मा छलफलकै क्रममा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार विघटन भएपछि निर्णय हुन पाएन ।

पछि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गुठीको नाममा लगेर मोहीलाई जग्गा दिएको थियो । बोगटी मन्त्री हुँदाकै निर्णयलाई आधार बनाएर पछि फेरि मन्त्रिपरिषद्मा त्यससम्बन्धी प्रस्ताव लगिएको भेटिएको छ । सोही आधारमा यसमा उनको समेत संलग्नता देखिएको सिआइबी स्रोत बताउँछ । बोगटी तत्कालीन नेकपा (माले)बाट भूमिसुधारमन्त्री भएका थिए ।