बालुवाटार प्र’करणमा विष्णु पौडेल निर्दोष छन् : डा. दीक्षित

काठमाडौ। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष भएको टिप्पणी गरेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रणमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको उनको आरोप छ । उनले भने,‘भ्रष्टाचार नियन्त्रण गर्न पनि ओली असफल भए ।’ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जसरी मुद्दा हालियो त्यसमा पनि विभेद भएको उनको टिप्पणी छ । उनले भने,‘अख्तियारले गर्नै नहुने काम गर्‍यो । विजय कुमार गच्छदारलाई मुद्दा हाल्दा तत्कालिन प्रधानमन्त्रीलाई किन मुछिएन ? बदमासी गच्छदारको होला तर, त्यतिवेला प्रधानमन्त्री त माधव नेपाल हुनुहुन्थ्यो, उनले किन रोकेनन् । अख्तियारले छोड्नै नहुने थियो ।’

उनले यो प्रकरणमा नेकपाका महासचिव विष्णु प्रसाद पौडेल निर्दोष भएको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि उनी त्यतिवेला शक्तिमा थिएनन्, उनले पावर लगाउने कुनै कुरै थिएन । उनलाई त दलालले जग्गा देखाए, उनले किनिदिए । म त विष्णु पौडेलका छोरा नवीन पौडेल पनि दोषी भन्दिन । तर, उनीहरुले अहिले जसरी जग्गा फिर्ता गरेर सरकारीकरण गराए, यो त आत्तिएर दिए । मुद्दा लडेको भए हुन्थ्यो । महाबदमासी त्यही क्याविनेटबाट भएको हो ।’

तत्कालीन प्रधानमन्त्री नेपाल दाेषी भएको बताउँदै उनले उनलाई अख्तियारले त्यसै छाड्न नहुने तर्क गरे ।