अग्निको सचिवालयमा प्रचण्डका ज्वाइँ र सहयोगीका ‘साला’ नियुक्त

काठमाडौं । चीन निकट रहेको आरोप खेप्दै आएका सभामुख अग्नि सापकोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ‘भारदारहरू’लाई आफ्नो सचिवालयमा नियुक्त गरेका छन् ।

सभामुख सापकोटाले शुक्रबार आफ्नो सञ्चार विज्ञमा श्रीधर न्यौपानेलाई नियुक्त गरेका छन् । न्यौपाने सभामुख सापकोटाकै गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाका हुन् । सञ्चार विज्ञमा नियुक्त भएका न्यौपाने नेकपाका दोस्रो अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’का साला हुन् ।

सालालाई सभामुख सापकोटाको सञ्चार विज्ञ बनाउन भिनाजु जुगलको ठूलै जोडबल रहेको उच्च स्रोतले जनाएको छ । प्रेस विज्ञमा नियुक्त भएका न्यौपानेले विभिन्न एनजिओहरूमा काम गर्दै आएका थिए । पछिल्लो समय उनी मिडियोबाट अलिक टाढा बस्दै आएका थिए ।

यसअघि, सभामुख सापकोटाले प्रचण्डका जेठो ज्वाइँ सागर केसीलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरिसकेका छन् । प्रचण्डकै दवावमा सभामुख सापकोटाले सागर केसी र श्रीधर न्यौपानेलाई सचिवालयमा नियुक्त गरेको संसद सचिवालयमा चर्चा छ ।

प्रचण्डका ज्वाइँ सागर केसी यसअघि कृष्णबहादुर महरा सभामुख भएका बेला पनि महराको प्रमुख स्वकीय सचिव थिए । परिवारवादको आरो प खेप्दै आएका प्रचण्डलाई सभामुख सापकोटाका कारण अर्को आ रोप लागेको हो ।

प्रचण्डले आफ्नै कान्छी छोरी गंगा दाहाललाई स्वकीय सचिव बनाएका छन् । कान्छा ज्वाइँ अर्थात गंगा दाहालका पति जीवन आचार्यले विभिन्न कामहरू गर्दै आएका छन् । अर्की छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाएका छन् । रेणु दाहालका पति अर्थात प्रचण्डका ज्वाइँ अर्जन पाठक मेयर पत्नीको स्वकीय सचिव बनेर सुविधा लिँदै आएका छन् ।

बुहारी विना मगरलाई प्रचण्डले खानेपानी मन्त्री बनाएका छन् । विना मगरले मन्त्रालय चलाउन नसकेको भनेर आलोचना हुँदै आएको छ । विना मगरकै कारण मेलम्चीमा ठेकेदार भागेपछि लगानी बढेको छ । साभार रिपब्लिका दैनिकबाट