नेपाली उद्धार गर्न १७ सदस्यीय टोली वाइडबडीसहित चीन जाँदै

काठमाडौं। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुवेईका नेपाली नागरिकको उद्धारका लागि क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली खटिने भएको छ। नेपालीको उद्धार गर्न चीन जाने टोलीका सदस्य टुंगो लगाइएको नेपाल एयरलाइन्सका अप्रेसन विभागका प्रमुख दिपुराज जुहारचनले नेपाल लाइभलाई जानकारी दिएका छन्।

नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् त्यहाँका १ सय ८० नेपालीको शनिबार उद्धार गर्न लागिएको हो। शनिबार दिउँसो उद्धारका लागि एयरलाइन्सको जहाज ३ बजे हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने सेड्युल तय गरिएको समेत जुहारचनले जानकारी दिए।

टोलीमा ३ जना पाइलट र ७ जना क्रु मेम्बर रहनेछन् भने १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहने छन्। सो टोलीमा ४ जना नेपाली सेनाका चिकित्सकसमेत रहने तय भएको छ। विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो। विमानको चार्टर भाडा प्रतिघन्टा ४८ हजार डलर कायम गरिएको छ।

चीन उडान गरिसकेपछि आइकाओको नियमअनुसार ४८ घन्टा ग्राउन्डेड गर्नुपर्ने भएकाले विमानको चार्टर भाडा महंगो पर्न गएको बताइएको छ।