भ्यालेन्टाइन डे बुझ्ने र स्वस्थानी नबुझ्ने हाम्रा युवा पुस्तालाई स्वस्थानीको बर्णन कसरी गर्ने ?

  • डा.नम्रता पाण्डे

प्रत्येक वर्ष माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानीको ब्रतकथा समापन हुन्छ । लगभग त्यसकै आसपासमा फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे (प्रेम दिवस) पनि पर्दछ । केही वर्ष अगाडिदेखि नेपालमा पनि पश्चिमी संस्कृतिको नक्कल गर्दै भ्यालेन्टाइन दे अर्थात् प्रेम दिवस धुमधामले मनाउँदै आइएको छ । तर, यसको विरोध भएको छैन । लाखौंको गुलाब र उपहारहरू आयात गरेर मनाइने भ्यालेन्टाइन डेले प्राथमिकता पाउने तर अहिले आएर प्रतिनिधिसभा बैठकमै एक सांसदद्वारा स्वस्थानीको पाना च्यात्ने र ऋषिपञ्चमी ब्रतलाई हटाउने माग राख्नु सरासर हाम्रो संस्कार, धर्म संस्कृति र परम्परामाथिको ठाडो बिरोध होइन र ?

ऋषिपञ्चमीको प्रसंगले सधैं कृषि कर्ममा व्यस्त रहने महिलाको सरसफाई र विश्रामलाई नै महत्व दिएको मान्नुपर्छ । अहिले समय फेरिएको छ, महिलाका लागि पनि सुविधायुक्त उपभोगका साधनहरू उपलब्ध छन् । गाउँघरमा प्रचलन त्यही नै बाँकी रहे पनि सहरमा प्रचलन फेरिएको छ । हामीले हाम्रा धर्म, प्रचलन र संस्कार परिवर्तन गर्ने कि आफू परिवर्तन भएर देखाउने ? यस्ता बिरोध कुरा बुझेर भएको छ या हाम्रो संस्कार र परम्पराको प्रचलनको अनभिज्ञताले लहैलहैमा कुराको लागि भएको छ ?हो, हाम्रा कतिपय संस्कार र प्रचलन परम्पराबादी र महिलालाई कम प्राथमिकता दिएको पाइन्छ तर यसभित्रको मनोविज्ञान नबुझी आफ्नै परम्पराको ठाडो बिरोध गर्नु त्यति सकारात्मक देखिएको छैन ।

बरू जसरी भिजिट नेपालको नाराका साथ पर्यटन प्रवर्द्धनमा जुटेका छौँ, यसलाई थप सहयोग पुर्‍याउन हाम्रा यी प्रचलन र परम्परालाई प्रवर्द्धन गरी स्थानीय गाउँ ठाउँहरूको विकासका लागि आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु बुद्धिमानी होला ।शिव र सतीदेवीको कथामा आधारित श्री स्वस्थानी ब्रत कथा प्रचलन पूर्ण प्रेममा आधारित कथा हो । सन्त भ्यालेन्टाइन (पुजारी) एउटी प्रेमिकाको प्रेममा परेको प्रसंग जोडिएर आउने भ्यालेन्टाइन डे (प्रेम दिवस) पनि पूर्ण प्रेममा आधारित प्रचलन हो ।तेस्रो इस्वी शताब्दीतिर रोम साम्राज्यमा अशान्ति फैलिरहेको अवस्था थियो।

रोमन सम्राट क्लोडिअसले आफ्ना युवा सैनिकहरुलाई विवाह गर्न प्रतिबन्ध गरेका थिए र युवा सैनिकहरुको ध्यान राष्ट्रको हितमा मात्र लगाउन आदेश दिएका थिए । रोमन सम्राटको आदेश एकातिर भए पनि आफ्नी प्रेमिकाको प्रेममा उनी चुर्लुम्म डुबिसकेका थिए । उनको बिवाह पनि भयो र विवाह भएकै कारण उनी जेल परे । फेब्रुअरी १४ का दिन जेलबाट उनले आफ्नी प्रेमिकालाई प्रेमपत्र लेखे र अन्तमा तिम्रो प्रेमी भ्यालेन्टाइन भनेर सम्बोधन गरेका थिए । त्यसै कारणलाई आधार मानेर फब्रुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस भनेर मानिने गरेको किम्बदन्ती उल्लेख छ ।किम्बदन्ती फरक–फरक हुन सक्छन् ।

जे होस्, एक युगल जोडीको प्रेम कथामा आधारित दिन हो फब्रुअरी १४ अर्थात् प्रेम दिवस । यसको शुरुवात शदिआंैदेखि रोम, अमेरिका, बेलायत लगायतका देशहरुबाट भए पनि १०/१५ वर्ष यतादेखि नेपालमा पनि मनाउने प्रचलन बर्षेनी बढ्दै गएको छ । विशेष गरी युवा जमातमा आफ्ना प्रेमी–प्रेमिका बीच रातो गुलाब, भ्यालेन्टाइन चकलेट, कार्ड र उपहार आदान–प्रदान गर्ने प्रचलन बढ्दो छ ।सदियौंदेखि प्रचलनमा आएको स्वस्थानी ब्रतकथामा विभिन्न कथाका प्रसंगहरु जोडिए पनि सात वर्षकी गोमाले ८० वर्षका महादेव पाउन बसेको ब्रतभित्र प्रेम र बालबिबाहको प्रसंग मात्र नभएर गोमाको लागि सुरक्षा, सहारा र कल्याणकारी भावनाको तथ्य पनि त लुकेको हुन सक्छ ।

शिव अर्थात् महादेव भन्नासाथ कल्याणकारी भन्ने बुझिन्छ । त्यसमा पनि देवहरुका देव महादेव जसको अर्थ दाता, दिनेवाला भनेर बुझिन्छ । तिनै कल्याणकारी, दाता, देवका पनि देव जस्ता गुणहरुले भरिएका पति सबै पत्नीहरूले पाउन चाहन्छन् भन्ने एउटा प्रतीकात्मक र संकेतात्मक संदेश पनि त स्वस्थानी कथाले दिन खोजेको हुनुपर्छ । अन्यथा ७ वर्षकी बालिका र ८० वर्षका बृद्धको विवाह त्यो समयमा पनि कल्पना बाहिरकै हुनुपर्छ ।स्वस्थानी व्रतको कथामा कतै शिव शर्मा ब्राह्मण र उनकी ब्राह्मणी सतीलाई कुनै सन्तान नहुँदा दुःखी भएको कुरा आउँछ

कतै उनीहरूको पुण्यले गर्दा एउटी गाईको गोबरमा उत्पन्न रुपवती कन्याको गोमा नाम राखेर शिव शर्माले पालेको र ठूली भएपछि सन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा उनले ‘८० वर्षको बूढो पति होस्’ भन्ने श्राप दिएको अनि पछि त्यस्तै भएर वृद्धबाट गोमाको गर्भमा पुत्र रहेको प्रसंग जोडिएर आउँछन् ।महिला अधिकारको आवाज र बालबिबाह विरुद्धको अभियानमा लागेको आजको समाजमा स्वस्थानीको कथाले सकारात्मक अर्थ दिएन भन्न खोजिएको होला । तर, यो कुनै पण्डितद्वारा आफ्नो अनुकुलमा बनाइएको कथा भनेर अर्थ लाग्ने गरेको पनि छ ।

त्यस्तै कतै दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग आउँछ ।शिवलाई कतै अत्यन्तै घीनलाग्दो जो भूतप्रेत पिशाच आदिले घेरिएर मसानमा बस्ने, खरानी घस्ने, बाघको छाला ओढ्ने, भाङधतुरो खाने, डमरु बजाउने, नाङ्गो, असभ्य र जंगली खालको संन्यासी जोगीको रुपमा प्रस्तुत गरिएको छ त कतै आफ्नी प्राणप्यारी पत्नी सतीदेवीको मृत्युपछि धेरै शोकाकुल बनेर सतीदेवीको मृत शरीर बोकेर संसार भ्रमण गर्दै हिँड्दा सतीको देह सडेर अङ्ग–अङ्गहरू विभिन्न ठाउँमा झर्दै गएको र ती ठाउँहरूमा शक्तिपीठहरूको उत्पत्ति हुँदै गएको प्रसंग जोडिएर आउँछन् ।

भ्यालेन्टाइन डे बुझ्ने र स्वस्थानी नबुझ्ने हाम्रा युवा पुस्तालाई स्वस्थानीको बर्णन कसरी गर्ने त्यो एउटा चुनौतिको विषय छ । आखिर सन्त भ्यालेन्टाइन र भगवान शिवको प्रसङ्ग प्रचलित कथा जसरी जोडिएर आए पनि सत्य यही हो कि– प्रेमकै कारण मानिसले जन्म प्राप्त गर्दछ । प्रसंग उठ्छ– हाम्रा आफ्नै हिन्दु क्यालेन्डरअनुसार पनि धेरै पर्वहरु, धेरै संस्कृतिहरु छन्, जो देवी(देवताका पालादेखि मनाइँदै आइएको छ ।तर, के आजका युवा समुदायमा जति आयातीत पर्वलाई विशेष रुपमा लिइन्छ, त्यसैगरी हाम्रा धर्म, संस्कृति र चलनहरुको बारेमा ज्ञात छ त ?

यदि हाम्रा युवा पिढीँलाई यी कुराबाट अनभिज्ञ हुनुपरेको छ भने कहाँनेर हामीले हाम्रो संस्कार र चलनलाई बिर्सेका छौं ? या हामी आधुनिक भयौं र हाम्रा संस्कारभन्दा अरुकै संस्कारको नक्कल गर्नमा लागिपरेका छौं ? श्री स्वस्थानी ब्रत कथाबारे वास्तविक ज्ञान हाम्रा युवा पुस्तामा छ कि छैन ? आज कति घर–परिवारमा स्वस्थानी कथा बाचन गरिन्छ ? कतिले ब्रत बस्छन् ? यसको महत्व र सन्दर्भ के हो ? आजका युवा पुस्तालाई ख्याल छ कि छैन, महत्वपूर्ण पक्ष छ ।मल्लकालदेखि नै तत्कालीन राजा प्रताप मल्लले स्वस्थानीले कथालाई प्राथमिकतामा राखेर १७३० सालमा काठमाडौंको मखन टोलमा शिवसहितको स्वस्थानीको मूर्ति बनाएर प्रतिष्ठा गरेका थिए भन्ने किम्बदन्ती भेटिन्छ ।

काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाशको पालामा स्वस्थानी कथालाई नाटक बनाएको र शाहकालमा राजा सुरेन्द्रविक्रम शाहले पनि स्वस्थानी कथालाई लिएर अर्कै नाटक बनाएर मन्चन गरिएको किम्बदन्ती भेटिन्छ ।स्वस्थानी नेपालको पुरानो मौलिक कथा छ, जसमा लावण्य देश भनेर वर्णन हुने शाली नदीसँग जोडिएको प्राचीन सहर साँखु हो । जसरी प्रेम दिवसमा विदेशदेखि सामान आयात गरेर व्यापार वृद्धिमा जोड दिइन्छ, त्यसरी नै हाम्रै साँखु, हाम्रो स्वस्थानी महिनालाई प्राथमिकतामा राखेर सांस्कृतिक, आर्थिक, सामाजिक हरेक हिसावले महत्वपूर्ण बनाउन सकिने अवस्था आउँछ कि ?

जसरी प्रेम दिवसलाई सन्त भ्यालेन्टाइनको प्रेम प्रसंग बनाएर मनाइन्छ, के भगवान शिवले आफ्नी प्रेमिका र पत्नीको मृत शरीरका प्रत्येक अंग समाप्त नभैकन बोकेर डुलेको कथा कम सान्दर्भिक र मार्मिक छ र ? शिव र सतीको प्रेम, दिव्य प्रेम, एक अर्कावीचको श्रद्धा अनि भक्ति पनि त्यो प्रेममा झल्किन्छ ।स्वस्थानीको कथा वाचनमा लुकेको सत्यता र मार्मिकता, भक्तिभाव अनि दर्शन र हामीलाई दिएको शिक्षा वास्तवमै मनन गरिन्छ । या तीनपटक कथा वाचन गर्‍याे भने राम्रो हुन्छ भनेर वाचिन्छ, त्यसभित्रको मर्मलाई ख्याल गरिँदैन, अर्को पक्ष छ । शिव कि पत्नी र प्रेमिका सतीदेवीका अंगहरु पतन भएका नेपाल र भारतका विभिन्न ठाउँहरुलाई तीर्थस्थल मानिएको छ ।

ती तीर्थस्थलहरुको परिचय हुने गरी प्राथमिकतामा राखेर नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सकिने सम्भावनाहरुलाई अरु बढी प्राथमिकतामा राखेर युवा पुस्तामा यो जानकारी दिलाउनु सबैको कर्तव्य होइन र ?राजा दक्षप्रजापतिले आफूले ठूलो यज्ञ गर्दा पनि आफ्ना छोरी र ज्वाइँहरूलाई बोलाए पनि आफ्नै छोरी सतीदेवी र ज्वाइँ शिवलाई निम्ता नगर्ने प्रसंग छ । गरिब, सर्पको माला लगाउने, भाङ, धतुरो खाने गजँडी भएकाले शिवलाई दक्षले नबोलाएको तर, सतीदेवी महादेवले रोक्दारोक्दै पनि बुवाको यज्ञमा पुगेर आफ्ना बुवाबाट आफ्ना पतिको अपमान सहन नसकी अग्निमा होमिएको कथा कुनै प्रेमल जोडीको कथा भन्दा कम छैन ।

उता शिवले दक्षप्रजापतिले आफ्नो अपमान गरेको कारण सतीदेवीले प्राण त्यागेको कारण शिवगणहरू आएर दक्षप्रजापतिको यज्ञको विध्वंस गरेको, शिवगणले दक्ष प्रजापतिको टाउको पनि यज्ञमा होमिदिएको र दक्षकी पत्नीले बिलौना गरेपछि शिवगणले बोकाको टाउको दक्षको शरीमा जोडिदिएको प्रसंग कथामा आउँछ । दक्ष प्रजापति र उनकी पत्नीको प्रेम कथा पनि संगै जोडिएर आउँछ । उता बाटोमा हिँडिरहेका नवराजलाई हात्तीले चढाएर लावण्य देशको राजा बनाएको वर्णन पनि कथामा छ । स्वस्थानीको पूजा गर्ने्बित्तिकै सबै पाप पखालिए भन्ने आश्चर्यलाग्दो कुराहरु पनि स्वस्थानीमा वर्णन छन् ।

आखिर किम्बदन्ती र कथाका प्रसंग जे जस्ता भएपनि हाम्रा परापूर्वदेखिका संस्कार र चलन हेर्ने हो भने प्रेम दिवसभन्दा कम सान्दर्भिक परम्परा छैनन् हामीकहाँ पनि । किनभने शिवको वास्तविक अर्थ कल्याणकारी हो । त्यसैले शिवलाई कल्याणकारी, अरुको रक्षा गर्ने र शक्तिका प्रतिक भगवानको रुपमा मानिन्छ । शिव भगवानमा भएको गुण हाम्रो आचरणमा पनि प्रवेश गरोस् । हाम्रो स्वाभाव पनि कल्याणकारी होस् । यही देशमा भगवान शिवले मनुश्य जातिलाई दिनुभएको छ ।त्यसैले भगवान शिवलाई के महिला, के पुरुष, के हिन्दु, के बौद्ध जो सुकैले अनुसरण गरे हुन्छ । यो कुरा सतिदेवीलाई थाहा थियो । त्यसैले आफ्ना पतिप्रति आफ्ना बुबाको अपमान उनले सहन सकिनन् ।

हाम्रो संस्कार र संस्कृति हाम्रो पहिचान हो । रोम वा अमेरिकाको संस्कृति पछ्याउने होलीवाइन अपनाउने तर आफ्नो संस्कृतिको बारेमा अनभिज्ञ रही हटाउने प्रसंग ल्याउनु नसुहाउने प्रसंग हो । हाम्रो संस्कृति जिवित राख्न हरेक पक्षले त्यसमा भूमिका खेल्नु जरुरी छ ।हामीले जीवनमा जति भागदौड गरे पनि, जति बुद्धिमता अपनाएर आफूलाई उच्च कोटीको मनुष्यमा राख्न चाहे पनि हाम्रो खास उद्देश्य यो पाएको अमूल्य मनुश्य जीवन खुसी र आनन्दित साथ जिउनु हो । आफू खुसी र आनन्द चाहने व्यक्तिले अरुका लागि पनि कल्याणकारी सोच राखेर कर्म गर्छ । जब हामीले गरेको कर्म सत्य हुन्छ, कल्याणकारी हुन्छ अनि सुन्दर हुन्छ, तबमात्र हाम्रो मूल मन्त्र सत्यम्, शिवम् र सुन्दरमको भाव सार्थक हुनेछ ।