जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति गराउन पास लिनुपर्ने व्यवस्था हटाउनुपर्छ – सांसद चौधरी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति गराउन पास लिनुपर्ने व्यवस्था हटाउनुपर्ने बताएकी छिन्।

उनले आजको प्रतिनिधि सभा बैठकमा सिंहदबारको अधिकार गाउँगाउँमा पुर्‍याइए पनि कामहरु गर्न सिंहदरबार आउनुपर्ने बाध्यता रहेको र सिंहदरबार छिर्न जनतालाई पास लिन गाह्रो भइरहेको बताइन्। सिंहदरबार छिर्न पास लिँदा धेरै समय लाग्ने भएकाले दिनको २ घण्टा राष्ट्रिय परिचय पत्र देखाएर सिंहदरबारमा प्रवेश दिनु न्यायोचित हुने उनको तर्क थियो।

उनले भनिन्, ‘जनस्तरका व्यक्तिहरु सिंहदरबार छिर्नु पर्दा भित्रबाट नै पास दिनुपर्ने व्यवस्था छ। सुरक्षाको हिसाबले आवश्यक छ। पास लिँदा नै धेरै समय जाने भएकाले निश्चित समय (दिनको दुई घण्टा) राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गरेर प्रवेश गर्न दिनु न्यायोचित हुन्छ।’ यसले समयको व्यवस्थापन पनि हुने उनले बताइन्।