सन्दीपले दिने भए गौतम बुद्ध रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका छन् ।

सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन् । उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पारेका हुन् । उनले १६ रन खर्चिए । त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए । यससँगै उनको कुल ८ विकेट भएको हो ।

ओमानसँगको दुवै खेलमा भने सन्दीप विकेट लिन सकेका थिएनन् ।