‘यो सरकारले कमिसन, भ्रष्टाचारको खेती गर्दैन्’ – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले निजी क्षेत्रसँग सुशासन, पारदर्शिता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सिआइपी) अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शिता र कानूनको पालना बाहेक सरकारले निजी क्षेत्रसँग अरु कुनै पनि माग नगर्ने बताए।

‘‘अहिलेको सरकारले कुनै कमिसनको माग गर्दैन, कमिसनको खेल गर्दैन, कुनै भ्रष्टाचारको खेती गर्दैन्’ ओलीले भने ‘पारदर्शिता, स्वच्छता, कानूनको पालना र कानूनले तोकेका दायित्वहरु पुरा गर्नुहोस् अरु कानून भन्दा बाहिरका कुराहरु तपाईहरुले गर्नुपर्दैन, गर्न परेमा वा गर्न बाध्य पारिएमा मलाई जानकारी गराउनुहोस्।’

प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रले विकास चाहे पनि सुशासनको मामलामा कहिलेकाँही विवाद हुने गरेको उल्लेख गरे। सभ्य समाज विकास गर्नका लागि सुशासन अपरिहार्य रहेकोले सुशासन विकासको बाधक नभएको ओलीको भनाइ छ। ‘सुशासन उद्योग व्यवसाय, वाणिज्यको बाधक होइन। यो सहयोगी हो । त्यसकारण यसमा कुनै द्विधा रहनुपर्ने कुरा छैन’, उनले भने।

प्रधानमन्त्री ओलीले आर्थिक विकास र सुशासनका लागि अब कानून निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने निर्यातकर्ता, लगानीकर्ता र रोजगारदाता गरी विभिन्न १३ विधामा २५ जना व्यवसायिक व्यक्तित्वहरुलाई सिआइपी अवार्डबाट सम्मान गरिएको छ।