वुहानमा फसेका पाकिस्तानी नागरिकलाइ भारतले उद्धार गर्नसक्ने

नयाँदिल्ली : कोरोना भाइरसका कारण चीनको वुहानमा फसिरहेका पाकिस्तानी विद्यार्थीलाई भारतले उद्धार गर्नेबारे सोच्न सकिने बताएको छ ।

पाकिस्तानले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । भारत सरकारको विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा उद्धार गर्नसक्ने संकेत देखाएको हो । चीनको वुहान र हुवेइ प्रान्तमा रहेका पाकिस्तानी विद्यार्थीले भने आफूहरुलाई जसरी पनि उद्धार गर्न पाकिस्तानी सरकारसँग आग्रह गर्दैआएका छन् ।
पत्रकार सम्मेलनमा सरकारका विदेश सचिव रविश कुमारसमक्ष पाकिस्तानी विद्यार्थीलाई उद्धार गर्न सकिन्छ कि ? भनेर सोधिएको थियो । जवाफको रुपमा उनले पाकिस्तानबाट यस्तो औपचारिक आग्रह नआएको तर आवस्यक परेमा सोच्न सकिने प्रतिक्रिया दिएका हुन् ।

भारतले भने वुहानबाट आफ्ना सयौं नागरिकलाई फिर्ता लगिसकेको छ । गत साता मात्रै ६ सय ५४ भारतीय नागरिक फिर्ता भइसकेका छन् ।