चीनमा कोरोना भाइरसको प्रकोपबाट ८११ जनाको मृत्यु, अफवाह नफैलाउन डब्लुएचओको चेतावनी

एजेन्सी- काेराेना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ। याे भाइसबाट चीनमा ८ सय ११, हङकङमा एक र फिलिपिन्समा एकजनाकाे मृत्य भएकाे छ।

चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको छ। चीनमा भाइरसका कारण मृत्यु हुनेमा २ जना विदेशी नागरिक पनि रहेका छन्। अमेरिका र जापानले आफ्ना नागरिकको चीनमा उक्त भाइरसका कारण ज्यान गएको पुष्टि गरेका छन्।

भाइरसका कारण शनिबार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ। त्यस्तै थप २ हजार ६ सय ५६ जना नयाँ संक्रमणका बिरामी फेला परेका छन्।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ। उपचारमा संलग्न डाक्टरहरुको तस्बिरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारे भ्रम फैलाउने, संक्रमण र मृत्युबारे अनर्गल प्रचार गर्ने लगायतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो।

डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्।