भारतको राज्यसभा बैठकको रेकर्डबाट मोदीको सम्बोधनको अंश हटाइयो

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा आफ्नो धारणा राख्ने क्रममा प्रयोग गरेको शब्द ‘असंसदीय’ भन्दै संसदको रेकर्डबाट हटाइएको छ । राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद प्रस्तावअन्तर्गत मोदीले बिहीबार राज्यसभामा आफ्नो मन्तव्य राखेका थिए । यस क्रममा उनले प्रयोग गरेको शब्दलाई राज्यसभाको अध्यक्षता गरेका उपराष्ट्रपति एम वेंकैया नायडुले हटाउन निर्देशन दिएका हुन् ।
राज्यसभा सचिवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ फेब्रअरी साँझ ६ः२० देखि ६ः३० सम्मको राज्यको कारवाहीको एक निश्चित हिस्सालाई हटाइएको छ ।’ भारतमा राज्यसभाको अध्यक्षता उपराष्ट्रपतिले गर्ने संवैधानिक प्रावधान छ । आधिकारिक रेकर्डका लागि उपयुक्त नदेखिएका टिप्पणीलाई सदनको सभापतिको निर्देशनअनुसार हटाउने गरिन्छ ।

यद्यपि भारतको संसदीय अभ्यासमा प्रधानमन्त्री कै टिप्पणी हटाउनु दुर्लभ घटना हो । मोदी र आजादले प्रयोग गरेका कुन शब्द हटाइए भन्ने खुलाइएको छैन ।

राज्यसभा बैठकमा मोदीले विपक्षी दललाई निशाना बनाउँदै भनेका थिए, ‘नयाँ दशकमा नयाँ आवरणको जो अपेक्षा थियो, त्यसमा म निराश भएको छु, तपाईहरु जहाँ हुनुहुन्थ्यो, त्यहीँ रहनु भयो ।’

उनले विपक्षी सांसदहरुलाई लक्षित गर्दै पहिला ‘साइलेन्ट’ (मौन) रहेकाहरु अहिले ‘भाइलेन्ट’ (हिंस्रक) हुन थालेको टिप्पणीसमेत गरेका थिए ।