सिसडोल भरिएपछि काठमाडौँको फोहर व्यवस्थापनमा थप चुनौती

काठमाडौँ, २४ माघ । पछिल्लो सामय काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापनकार्य थप चुनौतीको विषय बनेको छ । बन्चरेडाँडामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र निर्माण भइनसकेको र लामो समयदेखि फोहर थुपारिँदै आएको स्थान सिसडोल भरिएकाले कामपालाई फोहर व्यवस्थापन गर्न थप समस्या भएको हो । निर्माणाधीन फोहर व्यवस्थापनस्थलमा आगामी चैतदेखि नै फोहर थुपार्न मिल्नेगरी काम भइरहेको जनाए पनि हालसम्मा जम्मा ३० प्रतिशत मात्र काम भएको छ । बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्डसाइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ गरिएको सम्झौता भएको थियो ।

निर्माणका लागि अघिल्लो मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ ।

यसरी उत्सर्जन गरिँदै आएको फोहरमा सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर रहेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

ठेकेदारको लापरवाहीका कारण बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट एक वर्षको निर्धारित समयमै प्रयोग गर्न नसकिने भएको छ । निर्माणका लागि तोकिएको समय तीन महिना मात्र बाँकी हुँदा ३० प्रतिशत मात्र काम भएको जानकारी दिइयो । ल्याण्डफिल्ड साइटको पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नीतिगत अप्ठ्यारो भए समाधान निकाल्ने बताए।

शहरी विकास तथा भवन निर्माण विभागले अहिलेको अवस्थालाई हेर्दा निर्धारित समयमा निर्माणको काम सम्पन्न नहुनेमा पक्का भएको स्वीकार गरेको छ । ल्याण्डफिल्ड साइटको निर्माण सँगसँगै फोहर उत्पादनको स्रोतमा वर्गीकरण गर्ने विधिलाई पनि सँगै प्रवद्र्धन गर्नुपर्ने सरोकार भएका निकायको धारणा छ ।
पुनः सिसडोलमै फोहर उत्सर्जन गर्ने फोहर राख्ने स्थान निर्माण नभएकाले कामपाले भने केही समयका लागि सिसडोलमै फोहर राख्ने तयारी गरेको छ । कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलमा यसअघि थुपारिएको फोहरलाई माटोले पुरी थप फोहर राख्ने तयारी कामपाको रहेको बताइएको छ ।

फोहरको अनुपात धेरै रहेको छ, “जहाँसुकै फोहर राख्न सकिने अवस्था छैन, त्यसैले बन्चरेडाँडामा निर्माणको काम नसकेसम्म पुरानै स्थानमा राख्नुपर्ने बाध्यता रहेको छ ।”कामपाले यसरी पुरानै स्थानमा फोहर व्यवस्थापन गर्ने भनिरहँदा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सिसडोल आसपासका १० स्थान अति प्रभावित भनी कामपालाई अघिल्लो साता अध्ययन प्रतिवेदन पेश गरिसकेको छ । नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तको टोलीले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा अध्ययन गरी कामपाका शाक्यलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन अनुसार अहिले फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोल आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र चार स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोती बालुवा, मङ्गटाटोल १ र २, पाँचमुरी टोल गरी पाँच स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ जिल्लाको धुनीबेँसी नगरपालिकाअन्तर्गत सिङ्खडागाउँ, तिलखोरिया, कोल्पुखोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

यसैगरी ककनीका आठ र धुनीबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागतीगाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनीबेँसी नगरपालिकाअन्तर्गत पाठकगाउँ, डिगाउँ गरी दुई ठाउँ छन् ।ककनी गाउँपालिकाकाको कागतीगाउँ स्वास्थ्य चौकी र सिउँडिनी ट्याङ्कीडाँडा गरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनीबेँसी नगरतर्फ स्वनागाउँ र कटुञ्जेगाउँ गरी दुई ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।

वैज्ञानिक डा पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्काशन र व्यवस्थापन, माटोमा फोहरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका समेटिएको छ ।

“स्थलगतरूपमा गरिएको नमूना सङ्कलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो”, उनले भने । अध्ययन गएको असोज र कात्तिकमा गरिएको हो ।

अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु¥याएको असर समेटिएको छ ।रासस