भाइरसबारे जानकारी दिने डाक्टर सहित चीनमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६ सय ३६ पुग्यो

एजेन्सी- काेराेना भाइरसबाट चीनमा ६ सय ३६ जनाकाे मृत्यु भएकाे छ। चीनको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ७३ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार थप ३ हजार १ सय ४३ जनामा संक्रमण भेटिएको छ। तथ्यांकमा उल्लेख भएअनुसार ९ सय ६२ जना गम्भीर बिरामी छन्। बिहीबार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किसकेका छन्।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको कोराना भाइसका कारण चीनका विभिन्न सहरमा उपचाररत संक्रमितहरुको संख्या ३१ हजार १ सय १६ जना रहेकाे छ।

कोरोना भाइरसका कारण चीन बाहिर २ जनाको मृत्यु भएकाे छ।

कोरोना भाइरसबारे सुरुमा जानकारी दिने चिनियाँ डाक्टरको पनि मृत्यु भएकाे छ। भाइरसको बारेमा सुरुमै जानकारी दिने डाक्टर ली वेनलियाङको सोही भाइरसका कारण मृत्यु भएको हाे।

३४ वर्षीय लीको बिहीबार मृत्यु भएको हो। गत डिसेम्बर ३० मा आफ्ना डाक्टर साथीहरूलाई सार्सजस्तै एक किसिमको रोग देखिएको भनी सन्देश पठाएका थिए।

उनले सो सन्देशमा आफ्ना साथीहरूलाई त्यो एक सरुवा रोग भएकाले सबैलाई सुरक्षित कपडा लगाएरमात्र उपचार गर्न सुझाव दिएका थिए। चार दिनपछि चीनको पब्लिक सेक्युरिटी ब्युरोले उनलाई अफवाह फैलाएर समाजमा त्रास फैलाएको भन्दै एउटा कागजमा हस्ताक्षर गर्न लगायो। स्थानीय निकायले अफवाह फैलाएको आरोप लगाएका ८ जनामध्येकै एक थिए ली।

कोरोना भाइरसले महामारीको रुप लिएपछि स्थानीय निकायले उनीसँग माफीसमेत मागेको थियो। गत जनवरीको अन्तिम सातातिर भिभो नामक सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए।

सो भिडियोमा जनवरी १० देखि सार्सजस्तै एक किसिमको भाइरसबाट आफू पीडित भएको र त्यसको २ दिनपछि अस्पताल भर्ना हुनुपरेको बताएका थिए। उनी कोरोना भाइरसबाट संक्रमित भएको कुरा फेब्रुअरी २ मा पुष्टि भएको थियो।

अहिले चीनका विभिन्न सामाजिक सञ्जालमा उनको मृत्युलाई लिएर दुख प्रकट गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेको छ।