एक्लै बालुवाटार पुगेका महन्थ ठाकुरलाई प्रधानमन्त्रीले के भने ?

काठमाडौं। उपसभामुख आफ्नो पार्टीले पाउनुपर्ने भन्दै बालुवाटार पुगेका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई ‘प्याकेज’मा सहमति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन्।

बुधवार बिहानै प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका राजपा अध्यक्ष ठाकुरलाई प्रतिनिधिसभाको रिक्त उपसभामुख चयनका लागि मात्रै नभई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका हुन्।

प्रधानमन्त्री ओलीको उक्त प्रस्तावपछि राजपा अध्यक्ष मण्डलको बैठक केही दिनमै बस्दैछ। ‘मैले उपसभामुख चयनबारे कुराकानी राखेँ, प्रधानमन्त्रीज्यूले प्याकेजमै सहमति गरेर अघि बढौं भन्नुभयो,’ ठाकुरलाई उद्घृत गर्दै राजपाका एक नेताले भने, ‘अब पार्टीभित्र छलफल गरेर अघि बढ्नुपर्ने भएको छ।’ उनका अनुसार काठमाडौंभन्दा बाहिर रहेका राजपा अध्यक्ष मण्डलका सदस्यहरू फर्केपछि वैठक बसेर विस्तृत छलफल गरिनेछ।

ठाकुरका अनुसार प्रधानमन्त्री ओलीले उपसभामुख चयन, केन्द्र सरकारमा सहभागिता, प्रदेश–२ को सरकार परिवर्तन, संवैधानिक नियुक्ति र राजदूतलगायतमा भागबन्डा गरेर जान सकिने प्रस्ताव अगाडि सारेका छन्। ‘उपसभामुख राजपाका उम्मेदवारलाई समर्थन जनाउन कुनै समस्या छैन भन्नुभएको छ, केन्द्र सरकारमा पनि सहभागिता जनाउनुहोस्, र प्रदेश २ को सरकार बारेमा पनि एउटा निर्णयमा पुगौं भन्ने प्रधानमन्त्रीज्यूको भनाइ छ,’ ठाकुरलाई उदृत गर्दै स्रोतले भन्यो, ‘संवैधानिक परिषद्मा पनि तपाईंलाई स्थान हुन्छ, राजदूतलगायत अन्य राजनीतिक भागबन्डा पनि गरेर जान सकिन्छ भन्नुभएको छ, म जिचार गर्नेछु भनेर फर्किए।’ बुधबार बिहान ८ बजे बालुवाटार पुगेका ठाकुर प्रधानमन्त्री ओलीसँग ‘वन अन वान’ वार्ता गरेर फर्किएका थिए।

‘महन्थजीले संविधान संशोधन र तराई–मधेस, थरुहट आन्दोलनबारे कसरी अगाडि जान सकिन्छ भन्ने धारणा प्रधानमन्त्रीज्यूसँग माग गर्नुभएको छ, त्यसको चित्तबुझ्दो जवाफ आइसकेको छैन।’
प्रधानमन्त्री ओलीको प्रस्तावपछि राजपा अध्यक्ष मण्डलमा छलफल गर्न खोजे पनि ठाकुरलाई भने त्यो सम्भवः भएनन्। अध्यक्ष मण्डलका ६ जना अध्यक्षमध्ये शरदसिंह भण्डारी भाञ्जा नाता पर्नेको विवाहमा सहभागी हुन तीन दिनदेखि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् भने बुधबार नै श्रीमतीको उपचारका लागि भन्दै राजेन्द्र महतो पनि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

अर्का अध्यक्ष महेन्द्र यादव गृह जिल्ला सर्लाही तथा राजकिशोर यादव गृह जिल्ला सिरहामा भएकाले ठाकुरले प्रधानमन्त्री ओलीको प्रस्तावमा अध्यक्ष मण्डलमा छलफल गराउन प्रावधिक कारणले सकेनन्। ‘महन्थजी पनि आज मधेस झर्ने भएकाले सबैजना काठमाडौं फर्केपछि मात्रै अध्यक्ष मण्डलको बैठकमा प्रधानमन्त्रीको प्रस्तावबारे आवश्यक निर्णय हुनसक्छ,’ राजपाका एक नेताले भने, ‘तर, महन्थजीले संविधान संशोधन र तराई–मधेस, थरुहट आन्दोलनबारे कसरी अगाडि जान सकिन्छ भन्ने धारणा प्रधानमन्त्रीज्यूसँग माग गर्नुभएको छ, त्यसको चित्तबुझ्दो जवाफ आइसकेको छैन।’ उनकाअनुसार संविधान संशोधन र मुद्दा फिर्तालगायत विषयमा ‘आवश्यक निर्णय’ लिने प्रतिबद्धता प्रधानमन्त्रीले गरेका छन्।

आफूनिकटका मान्छेलाई नदोहोर्‍याएको भन्दै महेन्द्रजी अरुसँग असन्तुष्ट हुनुहुन्छ, सायद त्यही असन्तुष्टि प्रकट भएको हो।’
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्याकेजमा सहमति भएर अघि बढ्न सकेमा संविधान संशोधनबार अघि बढ्न सकिनेछ। ‘सरकारमा सामेल भएपछि सँगसँगै बसेर संविधान संशोधनलाई अगाडि बढाउन सकिने प्रधानमन्त्रीको धारणा छ, तर, सरकारमा सामेल नभई र प्याकेज सहमति नभई अघि बढ्न अप्ठयारो छ,’ बालुवाटारनिकट स्रोतले भन्यो। उनकाअनुसार प्रधानमन्त्री प्याकेजमा सहमति गरेर अघि बढ्ने योजनामा रहेका छन्।

अर्को तराई–मधेस केन्द्रित दल समाजवादी पार्टी ओली सरकारबाट बाहिरिएपछि नेकपा र राजपाका बीचमा गत असोज २ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन भएको थियो, जुन गठबन्धनअनुसार प्रदेश २ मा २–२ सिट बाँडेर चुनावमा होम्मिँदा दुवैले विजयी हासिल गरेका थिए। प्रमुख प्रतिपक्ष काँग्रेस र समाजवादी पार्टीको ‘भोट क्रस’ गराउन सफल नेकपा–राजपा गठबन्धन उपसभामुख हुँदै अन्य मुद्दामा सँगै जाने प्रयासस्वरुप छलफल गरिरहेका छन्। उक्त छलफललाई पूर्णता दिनका लागि ठाकुर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

महेन्द्र यादव विपक्षमा

नेकपा र राजपाको गठबन्धन अगाडि बढाउनका लागि अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादव भने विपक्षमा देखिएका छन्।
प्रतिनिधिसभा बैठकमा धारणा राख्ने क्रममा यादवले नेकपा सरकारमा राजपा सामेल नहुने अभिव्यक्ति दिएपछि राजपामा विभाजित देखापरेको छ। उपसभामुख दिएर अन्य मुद्दामा अघि बढ्ने प्रयास भएपछि यादवको उक्त अभिव्यक्ति आएको हो।

तर, राजपाका नेताहरु भने नेकपा सरकारमा सामेल हुन नहुने तर्क यादवले गर्नुमा खास कारण छ। ‘महन्थजीले वृषेशचन्द्र लाललाई झैं महेन्द्रजी रमेशप्रसाद यादवलाई राष्ट्रियसभामा दोहोर्‍याउन चाहन्थे तर, राजेन्द्र, शरत्सिंह, राजकिशोर र अनिल झाले त्यसलाई स्वीकार गरेनन, जसले गर्दा बहुमतको आधारमा नयाँ उम्मेदवार खडा गरियो,’ राजपा ती नेताले भने, ‘आफूनिकटका मान्छेलाई नदोहोर्‍याएको भन्दै महेन्द्रजी अरुसँग असन्तुष्ट हुनुहुन्छ, सायद त्यही असन्तुष्टि प्रकट भएको हो।’

उनका अनुसार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग निरन्तर सम्पर्कमा रहेका यादवले पार्टी एकतामा जोड गर्नुको मुख्य कारण यही देखिन्छ।